काठमाडौं, २१ श्रावण । नेपालको ढुवानी व्यवसायका ‘किङ’ भनेर चिनिने प्रीतम सिंहका नाति अङ्गद सिंहले आगामी २०८४ को चुनावमा पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने बताएका छन्।
काठमाडौं बसोबास गर्ने ३९ वर्षीय अङ्गदले शनिबार वीरगंजमा उक्त कुरा बताएका हुन्। भारतीय मूलका प्रीतम सिंहले सन् १९५८ मा पहिलोपटक मालसामान ढुवानी गर्ने २३८ नम्बरको ट्रक नेपाल भित्र्याएका थिए। त्यसपछि भारतको पञ्जाब र हरियाणाका शिख धर्मालम्वीहरु नेपाल प्रवेश गरी घर व्यवसाय गर्न थालेका हुन्।
शिख परिवारको नेपाल पब्लिक मोटर्स सर्भिसेज, मोर्डन इन्डियन स्कूल, जिएचपी स्कूल, वीरगंजलगायतका व्यवसायमा लगानी छ। अङ्गद सिंह प्रधानमन्त्री पुष्पकमल दाहालका निकट मानिन्छन्।
हजुरबुवा विवादमा तानिएको घटनाबारेमा उनले जथाभावी टिप्पणीले केही पनि नहुने भन्दै उनले आगामी चुनावमा पर्साको क्षेत्र नं ४ को चौतर्फी विकासको मुद्दा लिएर चुनावमा होमिने दाबी गरेका छन्।
५० जना युवा समूहसँगै वीरगंज पावरहाउसस्थित गुरूद्धारमा भेटिएका अङ्गदलाई अबिर र टीका लगाइ समर्थकहरूले स्वागत गरेका थिए। उनी आगामी तीन वर्षमा काठमाडौं- पर्सागढीमा चुनावी सरगर्मी बढाउने तयारीमा छन्। उनी शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासका मुद्दा लिएर चुनावमा होमिने बताइएको छ।