Logo

जब मलाई राज्यले जिम्मेवारी दिन्छ त्यहिबेला मविरुद्ध गिरोह संगठित रुपमा सक्रिय हुने गरेका छन् : उपाध्यक्ष लामा



लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा ल्हारक्याल लामाले आफूलाई राज्यले जिम्मेवारी दिनेबेला आफूविरूद्ध लान्छाना लगाउने गिरोह र मिडिया सधै संगठित रुपमा सक्रिय हुने गरेको आरोप लगाएका छन्।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नवनियुक्त उपाध्यक्ष लामाले उक्त आरोप लगाएका हुन्।

उनले भने, ‘विगत केही वर्षयता जब-जब मलाई राज्यको तर्फबाट जिम्मेवारी दिइन्छ त्यहिबेला मविरुद्ध यस्ता लान्छाना लगाउने गिरोह र मिडिया सधै संगठित रुपमा सक्रिय हुने गरेका छन् र तिनीहरू एउटै जमात छन्।’

उनले लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिने नेपाल सरकारको निर्णयप्रति आफू अभारी भएको बताउँदै भने, ‘लुम्बिनीको विकास र यसको अन्तर्राष्ट्रिय पहुँच तथा पहिचान विस्तारका लागि मलाई योग्य ठानेर नियुक्त गर्ने मन्त्रिपरिषद,सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीसहित सबैप्रति अभारी छु।’

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आफ्नो नियुक्तिपछि केही मिडियाले आफूविरुद्ध चरित्रहत्याको निम्नस्तरीय तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लान्छानाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताए।

ती आरोपहरूले अदालतकोसमेत अपहेलना भएको बताउँदै उनले भने, ‘उनीहरुले लगाएका अभियोगहरूको अदालती परीक्षणमा समेत मैले सधैं सफाइ पाएको छु तर जब उनीहरूको स्वार्थमा धक्का लाग्छ, तब मविरुद्ध समाचारका खेति हुने गरेका छन्।’

‘अघिपछि मैले संविधानसभा सदस्य, व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला तथा अन्तर्राष्ट्रिय फोरमहरूमा मैले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोल्दा तथा लबिङ गर्दा नउठ्ने प्रश्न जब मैले देशको पक्षमा केही काम गर्ने बेला हुन्छ त्यसमा अवरोध सिर्जना गर्ने नियतले यस्ता अफवाहहरु फैलाइने गरेका छन्। केही सिमित मिडिया र व्यक्तिहरु यसमा संलग्न छन्, सबै होइन,’ उनले भने।

उनले आफू हेलम्बुजस्तो दुर्गम गाउँमा गरिब आदिवासी जनजाति परिवारमा जन्मिएर बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै अपराध हो भने आफू अपराधबाट कहिल्यै सफाइ पाउन नसक्ने बताए।

केही मान्छेहरूले लगाएका आरोपहरु राज्यका संवैधानिक अंग तथा अनुसन्धान गर्ने अख्तियारीप्राप्त निकायहरुको अनुसन्धानबाट आफूले पटकपटक सफाइ पाएको सत्य किन स्वीकार गर्न सक्दैनन् उनले प्रश्न गरे। अदालतले सफाइ दिए पनि केही पेशवर विरोधीहरूको इजलालसले सफाइ नदिएसम्म आफूले अभियुक्त र अपराधी नै भइदिनुपर्ने हो भन्दै उनले अर्को प्रश्न गरे।

कहिले नागरिकताको प्रश्न उठाए, कहिले सम्पत्ति शुद्धिकरणको, कहिले हातहतियारको त कहिले ठगीको तर ती सबै मविरुद्ध र मैले अबलम्बन गरेको धार्मिक आस्थामाथि हिलो छ्याप्ने नियतबाट लगाइएका अभियोग थिए भन्ने अदालतबाट पुष्टि भइसकेको उनले भने।

उनले भने, ‘मविरुद्ध राज्यकै जिम्मेवार निकायमा बसेका केही व्यक्तिले पदको दुरुपयोग गरेर लगाइएका झुठा मुद्दाहरुबाट समेत मैले सफाइ पाइसकेको यथार्थ स्वीकार गर्न नसकी लगातार आक्रमण गर्नेहरुप्रति मेरो केही भन्नु छैन । के मैले उनीहरुका आरोपबाट सफाइ पाउन मृत्यु नै रोज्नु पर्ने हो ? उनीहरुको यो चाहना हो भने मलाई बुद्ध दर्शनले त्यति कायर पनि बन्न प्रेरित गर्दैन।’

उनले आफ्नो विरोध र निन्दा गर्नुलाई नै आफ्नो पेशा बनाएकाहरुप्रति आफ्नो केही भन्नु नभएको बताउँदै भने, ‘मैले सार्वजनिक जीवनमा प्रवेश गरेको यो २३ वर्षका बीचमा गरेका कामहरु राज्यको रेकर्डमा र पब्लिक अडिटमा छन्। हुँदै नभएका र गर्दै नगरेका अपराधको समेत मलाई अभियुक्त बनाउनेहरुसँग कानूनी लडाइमै जितेर आएको मान्छे हुँ।’

बुद्धका उपदेशबाट एक इन्च दायाँबायाँ नगरेको र आफ्नो जीवन दर्शन र आफूले आर्जन गरेको शिक्षाले त्यो गर्न नमिल्ने उनले दाबी गरे। उनले आफूमाथि लगाइने नियोजित र निराधारहरु आरोपहरुको खण्डन कामबाटै गर्ने दाबी गरे।

उनले भने, ‘लुम्बिनी विकास कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला तर मेरो लागि गहन जिम्मेवारी हो। जुन दर्शन र सभ्यताको अन्तर्राष्ट्रियकरण गर्न मैले व्यक्तिगत रुपमा भूमिका खेलिरहेको थिएँ अब राज्यको जिम्मेवारीमा रहेर त्यसलाई प्रमाणित गर्नेछु।’



प्रतिक्रिया दिनुहोस्