Logo

संसद्मा एमालेले थापेको अड्को फुकाउन शीर्ष तीन नेताको बैठक भोलिपनि बस्ने



काठमाडौं,२२ साउन । प्रतिनिधि सभाको बैठक सूचना टासेर स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पटक-पटक सूचना टासेर समय परिवर्तन गरिएपनि दलहरुबीच कुरा मिल्न नसकेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

अवरुद्ध संसद् खुलाउन सभामुख देवराज घिमिरेले आज दुई पटक शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेपनि सफल हुन सकेनन् । मध्यान्न १२ बजे भएको पहिलो छलफलमा कुरा नमिलेपछि पुनः ३ बजे अर्को छलफल भएको थियो तर दोस्रो छलफलमा पनि एमालेले आफ्नो अडान यथावत राखेपछि कूनै निष्कर्षमा नपुगी बैठक सकिएको हो ।

सोमबारको बैठकमा कूनै सहमति नजुटेपछि मंगलबार फेरि अर्को बैठक बोलाइएको छ । सभामुख देवराज घिमिरेका अनुसार मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बस्ने गरी शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ ।

गत साउन २ गते भन्सार पास भएर बाहिर निस्किएको एक क्विन्टल सुन बरामद प्रकरणमा एमालेले सत्यतथ्य छानविन गर्न माग गर्दै सदन अवरोध गरिरहेको छ । एमालेले उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने अड्को थापेपछि सदन लामो समयदेखि अवरुद्ध हुदै आएको छ ।

भोलि बस्ने तीन शीर्ष नेता र सभामुखको बैठकले एमालेले थापेको अड्को फुकाउने प्रयास गर्ने नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्