Logo

ओलीको कुनियतका कारण ललिता निवास प्रकरणमा माधव नेपालको नाम जोडिएको मेटमणिको आरोप



काठमाडौं, २२ साउन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले भ्रष्टाचार मुद्दामा दोषी पाईए जो कोहीलाई पनि कानुनी कठघरामा उभ्याउन पर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले दलहरुका नेताहसँग आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले गलत काम गर्छ भने आफूले गरकोे कामको सजाय भोग्नुपर्ने बताएका हुन् ।

‘कुनै पनि प्रसंग वा विषयमा कुनै व्यक्ति दोषी ठहर हुन्छ भने उसलाई कानुनी कठघरामा उभ्याउनु पर्छ । उसले आफूले गरेको कार्यको सजाय पाउनु पर्छ,’– उनले भने ।

ललिता निवास जग्गा प्रकरणमा माधव नेपालले कुनियत राखेर कुनै पनि काम नगरेको उनको दाबी छ । तत्कालीन प्रधानमन्त्री नेपालले आफ्नो कार्यकालमा मुख्य तीन वटा काम गरेको बताउँदै उनले ती तीनै वटा काम गलत मनसाय प्रेरित नभएको दाबी गरे ।

‘एउटा बालुवाटार जग्गाको गुरुयोजना बनेको थियो । त्यसलाई सपोर्ट गर्ने खाल्को निर्णय गर्नुभयो । दोस्रो बालुवाटार जग्गाको परिसर थियो, त्यसको विस्तार गर्ने कुरा । जुन कम्पाउन्ड थियो, कम्पाउन्डभन्दा बाहिर मोही जमिन थियो । मोही जमिनलाई समेत बालुवाटारको कम्पाउन्डभित्र ल्याउने काम गर्नुभयो ।’ उनले भने, ‘अर्को, त्यसबेलासम्म सभामुखको निवासको नाममा, राष्ट्र बैक, प्रधानमन्त्री निवासको नाममा जुन जुन निकायले उपभोग गरिरहेका छन् उसको नाममा गर्नु भनेर क्याविनेट डिसिजन भएको थियो ।’

उक्त प्रकरणमा माधव नेपालको नाम जोडिनुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख भूमिका रहेको उनले आरोप लगाए । तत्कालीन नेकपा कायम रहेको बेला ओलीले नेता नेपाललाई ललिता निवाससँग जोडेर कसरी फसाउने भनेर प्रपञ्च गरेको उनको आरोप छ । यसबीचमा ओलीले धेरै पटक माधव नेपाललाई उक्त प्रकरणमा फसाउन तत्कालीन प्रधानन्यायधीश र तत्कालीन अख्तियार प्रमुखसँग छलफल गरेको उनले खुलासा गरे ।

उनीहरुले निर्दोष माधव नेपाललाई उक्त प्रकरणमा फसाउन नमानेपछि तत्कालीन अख्तियार प्रमुखले ओलीको आग्रहमा प्रतिवेदनमा ‘बद्नियत’ भन्ने शब्द राख्न लगाएको उनले बताए । आज त्यही शब्दलाई जोडेर माधव नेपाललाई बदनाम गर्ने काम भइरहेको उनको भनाई छ ।

अहिले ललिता निवास प्रकरणमा आरोपितहरु पक्राउ पर्न थालेपछि अरुलाई समात्ने, निर्णय गर्नेलाई नसमात्ने भन्ने एक खाल्को प्रेसर आएर सर्वोच्चले फैसला गरेको उनले बताए । उनले सर्वोच्चको फैसला आफूहरुले स्वागत गरेको बताए । आफूहरु उक्त प्रकरणको अनुसन्धानमा सहयोग पुर्याउन तयार रहेको उनले बताए ।

‘अरुलाई समात्ने अनि निर्णय गर्ने टिमलाई नसमात्ने ? जसको अध्यक्षतामा निर्णय भएको छ, उसलाई केही नगर्ने भन्ने कुरामा जनताको प्रेसर आएपछि सर्वोच्चले फैसला गरेको छ । यो विषयमा हामी स्वागत गर्न चाहन्छौं । छानविनको लागि सहयोग गर्छौं,’– उनले भने ।

माधव कुमार नेपालको ललिता निवास जग्गा प्रकरणमा बेठीक र कुनियत नरहेको उनले दाबी छ । एक क्वीन्टल सुन तस्करी प्रकरणमा एमालेले संसदीय छानविन समितिको माग गरेर अनुसन्धानलाई मोड्न खोजिरहेको उनको आरोप छ । अहिलेसम्म बनेका कुनै पनि छानविन समितिले सत्यतथ्य बाहिर नल्याएको र प्रतिवेदन पनि सार्वजनिक नगरेको भन्दै उनले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउन आवश्यक नरहेको बताए ।

‘आज पनि संसद् बन्द छ । आज तीन शीर्ष नेतृत्वहरु बसेर छलफल गर्नुभयो । सभामुखको आयोजनामा । कुरा मिलेन । कुरा किन मिलेन भन्दाखेरी नेकपा (एमाले) ले एउटै कुरा उठाइराखेको छ । संसदीय छानविन समिति बानाऔं भनेर ।’ उनले भने, ‘हामीले संसदीय छानविन समिति बनाउन पर्दैन भनिराखेका छौं । यसको कारण के हो भने अहिलेसम्म जति संसदीय समिति बनेको छ, त्यसलाई सार्वजनिक गरिँदैन । त्यो कार्यान्वयन हुँदैन ।’

अहिले उक्त प्रकरण राजश्व अनुसन्धान विभागबाट नेपाल प्रहरीको सिआईबीमा ट्रान्सफर भएको बताउँदै यसमा निश्पक्ष छानविन हुनेमा विश्वास व्यक्त गरे । एमाले अध्यक्ष ओलीलाई संसदीय व्यवस्थानै मन नपरेको उनको टिप्पणी छ । ओलीले संसदीय प्रणालीलाई नै कोल्याप्स बनाउन चाहेको उनले बताए ।

‘आफू प्रधानमन्त्री हुँदा संसद् विघटन गर्छन् । आफू प्रधानमन्त्री नहुँदा संसद् बन्द गर्छन । यिनै दुईवटा काम ओलीले किन गरिरहेका छन् भने संसदीय व्यवस्था यिनलाई मन परेको छैन । संसदीय प्रणालीलाई कोल्पाप्स गर्ने प्रयत्न गरिरहेका छन् । त्यो कुनियत ओलीको दिमागमा छ,’– उनले भने ।

जनताहरुलाई संसदीय प्रणालीप्रति वितृष्णा पैदा गराउन ओलीले विभिन्न बहानाबाजी गरिरहेको उनको आरोप छ । ‘आज ओली भन्ने पात्र संसद्प्रति जनताहरुलाई विमुख गराउने, संसद्प्रति विद्रोह गराइदिने गलत नियतका साथ अगाडि बढेका छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्