काठमाडौं, २२ श्रावण । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले लम्बेतान निर्णय प्रक्रियाले देश नबन्ने बताएका छन्।
सोमबार यहाँ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले नियर्णयका लागि अपनाइने लम्बेतान प्रक्रियाभन्दा देशले नतिजा खोजिरहेको मन्त्री मोदीको भनाइ थियो। उनले भने, “एउटा ऐन बनाउन वर्षौंवर्ष लाग्ने हाम्रो लम्बेतान निर्णय प्रक्रिया छ, जनतालाई लम्बेतान प्रक्रिया होइन, नतिजा चाहिएको छ।”
राष्ट्रिय निजामती सेवा ऐन ल्याउने प्रक्रियामा भइरहेको लम्बेतान निर्णय प्रक्रियाको उदाहरण दिँदै उनले भने, “मन्त्रालयले ऐन बनाएपछि कानून र अर्थमा सहमतिका लागि पठाउने, सहमति प्राप्त भएपछि समितिमा पठाउने, त्यसपछि मन्त्रिपरिषद्मा पठाउने अनि संसद्मा लैजाने, यस्तो लम्बेतान प्रक्रियाले हामी चाँडो नतिजा दिन नसक्ने ठाउँमा छौँ ।”
मन्त्री मोदीले कानून व्यक्तिगत स्वार्थका लागि नभई देश र जनताको आवश्यकतालाई सम्बोधन गर्नका लागि बनाउनुपर्ने धारणासमेत राखे। मन्त्रालयले अहिले सुशासन कायम गर्ने सिलसिलामा सिंहदरबार वरिपरि रहेका कर्मचारीलाई स्थानीय तहमा सरुवा गर्न थालेको उनको भनाइ थियो। रासस