काठमाडौं, २३ साउन । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लागेका आरोप आधारहीन र तथ्यविहीन रहेको बताएका छन् । आफूमाथि पदमा रहँदा विभिन्न समयमा नियोजित रुपमा अरोप लगाइएको र उक्त आरोपमा सम्बन्धित निकायबाट सबै मुद्दामा आफूले क्लिन चिट पाइसकेको उनले बताए । अहिलेसम्म नियोजित रुपमा लगाइएको अरोपमा आफूले क्लिन चिट पाएको उनले बताए ।
‘विना प्रमाण आरोप, लान्छना, कुनै आधार छैन, कुनै तथ्य छैन । म २०५७ सालमा गुम्बा व्यवस्थापनको अध्यक्ष भएँ । त्यसपछि म दुई पटक संविधान सभा सदस्य भएँ । त्यसपछि म मन्त्री भएँ । अहिले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य छु । त्यो बीचमा मलाई थुप्रै आरोपहरु लगाइयो । तर, सबै आरोपहरुमा सम्बन्धित निकायहरुबाट क्लिन चिट (सफाई) पाईसकेँ । जति आरोपहरु लगाइयो, त्यत्तिकै क्लिन चिट पाएँ,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
आफूमाथि लागेको आरोपमा सम्बन्धित निकायले सफाई दिँदा पनि सधैं विवादास्पद भनेर चरित्र हत्या गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए । आफूमाथि आरोप पुष्टि हुने कुनै प्रमाण भए पेश गर्न पनि चुनौति दिएका छन् । आरोप पुष्टि भएको खण्डमा सजाय भोग्नका लागि तयार रहेको उनको भनाई छ । उनले आरोप लगाउनेवित्तिकै कोही पनि अपराधी नहुने बताए ।
‘सफाई पाएर पनि विवादास्पद ? मान्छेलाई आरोप लगाएपछि उसको सम्पूर्ण जीवन विवादास्पद हुन्छ ? अपराधी त आरोप लगाएपछि सम्बन्धित अदालतले उसलाई दोषी ठहर गरेपछि हुन्छ । त्यसपछि विवादास्पद हुन्छ । आरोप लगाउनेवित्तिकै सबै अपराधी हुन्छ ?’– उनले प्रश्न गरे ।
आफू बुद्ध दर्शनमा संसारकै टप टेन विद्वान भएको उनको दाबी छ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आफू जतिको योग्य पात्र अरु कोही हुनै नसक्ने उनले बताए ।
‘संसारमा म टप टेन बुद्धिस्टको विद्वानमा पर्छु । जुनसुकै बुद्ध दर्शनको व्याख्या गर्न सक्छु । म जत्तिको विद्वान बुद्ध दर्शनमा देखाउनुस् न त ? पार्टीमा पनि दुःख गरेको, देशमा पनि दुःख गरेको,’– उनले भने ।
मुलुक बेचेर खाने, सार्वजनिक जग्गा बेचेर खाने, सुन तस्करी गर्ने र अनियमितता गर्नेहरु विवादास्पद नभएको र विभिन्न आरोपमा सम्बन्धित निकायबाट क्लिन चिट पाएको व्यक्तिलाई जीवनभर विवादास्पद बनाउन खोजेको उनले बताए ।