काठमाडौं,२३ साउन । प्रस्तावित सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आव्हान भएको छ ।
संसदीय सुनुवाई विशेष समितिको मंगलबारको बैठकले १० दिनको समय दिएर उनीविरुद्ध कुनै उजुरी भए दिन गर्ने निर्णय गरेको हो ।
संसदीय सुनुवाइ समितिबाट सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिनेछ ।
श्रेष्ठ साउन १८ गते बसेको संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका थिए । संसदीय सुनुवाइृ समितिबाट अनुमोदन भएपछि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।
हाल सर्वोच्चमा प्रधानन्यायाधीश रिक्त रहेको छ । तत्कालिन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अनिवार्य अवकास पाएपछि कामु प्रधानन्यायाधीशको जिम्मेवारी उनै श्रेष्ठले सम्हालिरहेका छन् ।