काठमाडौं,२४ साउन । प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुअघि आवश्यक छलफल गर्न भन्दै सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ ।
नयाँ बानेश्वरस्थित कार्यव्यवस्था परामर्श समितिको कार्यकक्षमा सुरु बैठकमा विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरु उपस्थित छन् ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरिले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएपनि ढिलोगरी सुरु भएको हो ।
सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ । हिजोको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको जवाफ चित्त नबुझेको भन्दै एमालेले संसद अवरुद्ध गरेपछि सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।