काठमाडौं,२४ साउन । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले गत साउन २ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएर ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाएर सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् ।
बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै देवकोटाले नेकपा एमालेले उठाउँदै आएको उच्चस्तरीय छानविन समितिलाई समर्थन गरेका छन् । उनले सुन बरामद प्रकरणलाई मात्र नभएर नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका सबै प्रकारका भ्रष्टचारजन्य घटनामा छानविन गर्न एक शक्तिशाली संसदीय छानविन समिति वा उच्चस्तरीय समिति जे बनाएपनि सत्यतथ्य पत्ता लाग्नुपर्ने बताए ।
देवकोटाले सरकारले काम गरिरहेपनि अर्को छानविन समिति बनाउँदैमा कुनै आपत्तिमान्नु नपर्ने बताउँदै एमालेले उठाएको छानविन समितिको माग जायज रहेको बताए । उनले मुख्य तीन अंगहरु न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सबैले आ आफ्नो ढंगबाट काम गर्नेहुँदा छानविन समिति बनाउँदैमा सत्तापक्ष डराईहाल्नुपर्ने अवस्था नरहेको बताए ।
उनले दिनहुँ आउनु विभिन्न काण्डहरुले देश अन्तर्राष्ट्रिय स्तरमा बदनाम बनेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।