काठमाडौं,२४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डेलाई अनुसन्धानका क्रममा दोषी देखिए कारबाही हुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित आदिवासी जनजाति समुदायले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानका क्रममा दोषी देखिए कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् ।
‘तामाङ समुदायको संस्कारलाई आँच पुग्ने गरी भगवती पाण्डेले दिएको भन्ने अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा आज बिहानमात्र मैले प्रहरीका उच्च अधिकारीसँग छलफल गरेको छु’, उनले भने, ‘दोषी देखिएमा कारबाही हुन्छ । आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरी केही व्यक्तिहरू गम्भीर घाइते भएको विवरण आएका छ । अत्यधिक बल प्रयोग गर्ने प्रहरीमाथि पनि कारबाही हुने कुरा तपाईंहरूलाई जानकारी गराउँछु ।’
पाण्डे दुई हप्ता अगाडि एक टेलिभिजन कार्यक्रममा तामाङ, मगर र मुस्लिम समुदायमा हुने बिबाहका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी थिईन् । तामाङ,मगर समुदायहरु आवद्ध संघ संस्थाले प्रहरीमा जाहेरी दिएपछि पक्राउ परेकी पाण्डे सामान्य सोधपुछपछि रिहा भएकी थिईन् । file photo