Logo

आफ्नालाई उन्मुक्ति दिने मनसायले उच्चस्तरीय समिति माग गरियोः वाईसिएल अध्यक्ष शेर्पाली



काठमाडौं, २४ साउन । नेकपा (माओवादी) केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष शुवोधराज शेर्पालीले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउँदा राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको अहिलेसम्मको अनुसन्धान प्रभावित हुने बताएका छन् ।

साथै, सुन तस्करी प्रकरण अन्तरदेशीय संगठित अपराध भएको बताउँदै उनले उक्त अनुसन्धान छानविन समितिको दायराभित्र नपर्ने बताएका छन् ।

अपराधसँग जोडिएका कसैलाई नछोडी इमान्दारीसाथ अनुसन्धान प्रक्रिया थालेको सिआइबीको कार्यक्षमतामाथि प्रश्न उठाउनु राजनीतिक पूर्वाग्रह भएको उनको भनाई छ । सुन तस्करी प्रकरणमा संलग्न आफ्ना मान्छेलाई उन्मुक्ति दिन र सरकारले खोल्न लागेको भ्रष्टाचारको फाईल रोक्नका लागि प्रमुख प्रतिपक्षी दलले समितिको माग गरिरहेको उनको दाबी छ ।

‘आफ्नालाई उन्मुक्ति दिन र भ्रष्टाचारका अरू फाइल रोक्ने मनसायले माग गरिएको छानबिन समिती कुनै पनि हालतमा गठन गरिनुहुन्न,’– अध्यक्ष शेर्पालीले सामाजिक सञ्जालमा लेखेका छन् ।

संगठित अपराधजस्तो गम्भीर मुद्दामा राजनीतिक सहमति खोज्नु राष्ट्र र जनताप्रतिको बेइमानी भएको उनको बुझाई छ । उनले साधन, स्रोत र जनशक्तिसहितको नेपाल प्रहरीको टोली हुँदाहुँदै संसदीय छानबिन समिति आवस्यक नरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्