काठमाडौं,२५ साउन । नेपाली कांग्रेसका सांसद डा.सुनील शर्मा पक्राउ परेका छन् । शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलिले आज काठमाडौंस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
सांसद शर्मामाथि एमबिबिएस अध्ययनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिएका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका सांसद शर्मा गत साउन १० गतेको प्रतिनिधि सभा बैठकमा बोलेर चर्चामा आएका थिए । गत साउन ३ गते सिनामंगलबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा आफ्नै पार्टीका अर्थमन्त्री प्रकाशशरण महतमाथि खनिँदै राजीनामा माग गरेका थिए । सुन बरामद प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहँदा प्रतिपक्षीलाई बल पुग्नेगरि सरकारको विरोध गरेपछि उनको चौतर्फी आलोचना भएको थियो ।
साउन १० को संसद बैठकमा के भनेका थिए शर्माले ?
गत साउन १० को सांसद बैठकमा बोल्दै शर्माले सुन प्रकरणमा नतिक जिम्मेवारी लिँदै अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका थिए । अन्यथा आफु यहि सदनमा अनसन बस्ने चेतावनीसमेत दिएका थिए ।
उनले भनेका थिए “त्रिभुवन विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन आउँदाखेरि मुख्य अभियुक्तलाई पक्रन नसक्नु भनेको हामी संसद्मा रहेका सांसदहरु पनि दोषको भागीदार हुन्छौँ । अहिले प्रधानमन्त्री बाहिर हुनुहुन्छ । बाहिर होउन्जेल त म पर्खिउँला । तर यो चिजलाई गुपचुप पारेर विचरा पहाडको गाउँको भरियालाई मात्र पारेर जेलभित्र कुहाउने अभिप्रायले मुख्य नाइकेहरु भाग्छन्, दुईजना मन्त्रीहरु गृहमन्त्री र अर्थमन्त्री फेरि त्यही विचरा भुजेललाई समातेर मुख्य नाइकेलाई नपक्री बस्छु भनेर सोच्नुभएको छ भने म यो सदनमा घोषणा गर्न चाहन्छु, प्रधानमन्त्रीको आगमन पछाडि उहाँहरुले लिएको डेटभित्र भरियामात्रै पक्राउ पर्यो भने यो सदनभित्र म आमरण अनसन बस्ने घोषणा गर्न चाहन्छु, आजै ।”