काठमाडौं,२६ साउन । राष्ट्रिय सभा सदस्य गंगा बेल्बासेले सुन तस्करी प्रकरणलाई लिएर प्रतिपक्ष दल नेकपा एमालेले अनावश्यक अड्को थापेको आरोप लगाएकी छन् ।
शुक्रबारको राष्ट्रिय सभा बैठडकमा बोल्दै बेल्बासेले प्रतिपक्षी दल एमालेले सदन सूचारु गर्न कहिल्यै पनि नचाहेको आरोप लगाईन् । उनले प्रतिपक्षी दल एमालेले सत्तामा हुँदा सदन विघटन गरेको कारण अहिले पनि त्यो धङधङी कायमै रहेको दाबी गरिन् ।
‘सरकारले गरिरहेको राम्रो कामको समर्थन गर्न र ध्यान नदिएको ठाउँमा सम्बोधन गर्नुपर्ने बेलामा हाम्रा आवाज बन्द भएका छन् । हाम्रा आवाज बन्द गर्न प्रतिपक्षमा रहेर प्रतिक्षले भूमिका खेलिरहेका छन्’ उनले भनिन् । ‘सरकारमा हुँदा संसद विघटन गर्ने, विपक्षीमा हुँदा सदन अवरोध गर्ने यो के तरिका हो ? २०७४ सालको निर्वाचन पछि जव हामी मिलेर अगाडि बढ्यौं स्थायी सरकारका निम्ती, देश र जनताका गुनासो सम्बोधन गर्नेगरि अगाडि बढ्दा उहाँहरुलाई सदन चाहिएन विघटन गर्नुभयो । र अहिले फेरी उहाँहरुलाई सदन चाहिएको छैन अवरुद्ध गर्नुहुन्छ । यसरी देश चल्दैन ’।
माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी बेल्बासेले सुन प्रकरणको छानविन गर्ने जिम्मा सीआईबीले पाईसकेको हुँदा अनावश्यक बखेडा झिकेर गोलमोटल पार्नेकाम गर्न नहुनेमा जोड दिईन् ।