काठमाडौं,२६ साउन । गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएर साउन तीन गते काठमाडौंको सिनामंगलबाट बरामद भएको झण्डै एक क्विन्टल सुन प्रकरणमा सन्दिग्धको आरोपमा आज थप तीन जना पक्राउ परेका छन् ।
शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुइ चिनियाँसहित ३ जनालाई पक्राउ गरेको हो । सीआईबीले आज चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान र व्यापारी रोहन अकुडियालाई पक्राउ गरेको उच्च स्रोतले जनाएको छ । नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका रोहनलाई विमानस्थलबाटै पक्राउ गरिएको उच्च स्रोतले जनाएको छ, भने बिहान पक्राउ परेका २ जना चिनियाँ नागरिपनि विमानस्थलबाटै पक्राउ परेका थिए ।
आज थप ३ नागरिक पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ, जसमा २० जना सीआईबीको हिरासतमा छन् भने एक जना जिम्मा जमानीमा रिहा भएका छन् ।
को को पक्राउ परे हालसम्म ?
राजश्व अनुसन्धान विभागले गत ३ साउनमा हङकङबाट आएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । लगत्तै ट्याक्सी चालक र भन्सार एजेन्ट पक्राउ परेका थिए । सीआईबीले आज ली जियालिङ, लिउ फुयान र रोहन अकुडियालाई पक्राउ गरेको छ, भने पछिल्लो समय साउन १४ गते बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो। त्यसअघि साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङ पक्राउ परेका थिए।
त्यस्तै यसअघिनै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङपनि यहि प्रकरणमा पक्राउ परिसकेका छन् ।
भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठपनि हाल सीआईबीको हिरासतमा छन्। उनीहरूको कार्य सम्पादनमा लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको थियो। पछि उनीहरूलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो।
हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट ल्याइएको ब्रेक९शुमा लुकाएर सुन भित्र्याइएको थियो। रेडी ट्रेड प्रालिले उक्त सामान मगाएको जनाएको छ ।
पक्राउ परेका २१ जना मध्ये भन्सार एजेन्ट रुक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। उनी क्यान्सरपीडित रहेको बताइएको छ ।