Logo

खराब मौसमका कारण भरतपुरमै रोकिए प्रचण्ड, आजपनि मन्त्रिपरिषद् हेरफेर नहुने सम्भावना



काठमाडौं,२८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला गृहजिल्ला चितवनमा छन् । उनी शुक्रबार साँझ आकस्मिकरुपमा भरतपुर पुगेका हुन् । औपचारिक कार्यक्रम तय नगरि चितवनको भरतपुर पुगेका प्रचण्ड शनिबार भएको अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा भने सहभागी भएका थिए ।

चितवनबाट आजै काठमाडौं फर्किने तयारीमा रहेका प्रचण्ड मौसममा आएको खराबीका कारण भरतपुर विमानस्थलमै रोकिएका छन् । लगाताररुपमा वर्षा हुँदा उडान प्रभावित भएपछि प्रधानमन्त्री प्रचण्ड काठमाडौं आउन नपाएको माओवादी केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज काठमाडौं फर्किएर मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा छन् । असारको अन्तिम सातानै सरकारमा जान नाम बुझाएको जनमत पार्टीलाई सरकारमा सहभागी गराउने अन्तिम तयारीमा प्रचण्ड रहेका छन् । उच्च स्रोतका अनुसार माओवादी केन्द्रबाट मन्त्री रहेका सुदन किराती र अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमतकी अनितादेवी साह र माओवादी केन्द्रकै हितबहादुर तामाङलाई मन्त्री बनाउने तयारी रहेको बताइएको छ ।

प्रचण्ड पार्टीबाट मन्त्री रहेका किराती र मोदीको कार्यशैलीप्रति असन्तुष्ट रहेको बताईन्छ । पछिल्लो समय काम भन्दा गफ बढी गरेको भन्दै मोदी र किराती दुबैलाई फिर्ता बोलाउन पार्टीभित्र प्रचण्डलाई दबाब रहेको एक नेताले बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासनन्त्री रहेका छन् ।

आजै मन्त्रिपरिषद् हेरफेरको तयारीमा रहेका प्रचण्ड भरतपुरमै रोकिएपछि आजपनि मन्त्रिपरिषद् हेरफेर हुने नहुने अन्यौलता नै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्