Logo

सरकारमाथि एमालेको दर्जनौ आशंका, कोशीमा सत्ता टिकाउन सभामुखलाई राजीनामा गराउनु संविधानको उल्लंघन भएको ठहर



काठमाडौं,२८ साउन । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार सत्ता टिकाउन जुनसुकै हर्कत गर्न तयार रहेको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टीको समसामयिक धारणा सार्वजनिक गर्दै एमालेले सत्ता गठबन्धनमाथि दर्जनौं आशंकासमेत गरेको छ । एमालेले भनेको छ ‘साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको कम्पाउण्ड बाहिर राजस्व अनुसन्धान विभागद्वारा बरामद गरिएको १०० केजीभन्दा बढी सुन प्रकरणले सिङ्गो राष्ट्रलाई तरङ्गित बनाएको छ । नेपाल सरकारका दर्जनौं निकायहरु कार्यरत रहेको र सुरक्षा निकायका पनि अनेकौं इकाइहरु क्रियाशील रहने अन्तरराष्ट्रिय विमानस्थलबाट यति ठूलो परिमाणमा भएको सुन तस्करीले अन्तर्राष्ट्रिय जगत मा सिङ्गो राष्ट्रको छविलाई धुमिल तुल्याएको छ र विमानस्थलको सुरक्षा प्रबन्धको विश्वसनीयतामाथि गंभीर प्रश्नचिह्न खडा भएको छ ’।

एमालेले नेपाल सरकारको सर्वाधिक कडा सुरक्षा प्रबन्ध रहेको भनिने अन्तर्राष्ट्रिय विमानस्थलबाट यति ठूलो परिमाणमा सुन तस्करी हुनु र त्यो पनि बारम्बार हुनु, राजनीतिक र प्रशासनिक संरक्षण, मिलिमतो र सङ्लग्नताबिना हुन संभवै छैन भन्ने निष्कर्षसमेत निकालेको छ ।

त्यस्तै एमालेले कोशी प्रदेशमा गठबन्धनको तर्फबाट सरकार बनाउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराइएकोमा असन्तुष्टि जनाएको छ । कांग्रेस नेृता उद्धव थापालाई मुख्यमन्त्री बनाउन बहुमत नपुगेपछि गत १६ गते माओवादी केन्द्रबाट निर्वाचित सभामुख गौतमले पदबाट राजीनामा दिएका थिए । गौतम हाल थापा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री छन् ।

सभामुखको राजीनामा प्रकरणमा एमालेले भनेको छ ‘ सरकार आफ्ना क्षुद्र स्वार्थका लागि संविधानको मर्ममाथि कुल्चिन तयार छ भन्ने कुरा कोशी प्रदेशमा सभामुख पदको गरिमालाई कुल्चिदै गरिएको हर्कत, पटक–पटक सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको पद रिक्त राख्ने, कामुको भरमा चलाउने र सर्वोच्च लगायत विभिन्न अदालतमा न्यायाधीशहरु रिक्त राख्ने काम तथा स्वतन्त्र संस्थाहरुमाथि गरिएको नाङ्गो हस्तक्षेपले स्पष्ट पारेको छ’ ।

त्यस्तै एमालेले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा दिएको जातीय राज्यसम्बन्धी अभिव्यक्तिलाई समाजमा जातीय र साम्प्रदायिक सद्भाव विकसित गर्दै लैजानु पर्नेमा प्रधानमन्त्री स्वयं जातीय अतिवादलाई प्रश्रय दिन, अतिवादीहरुले विपक्षी दलका नेता कार्यकर्तामाथि गरेको साङ्घातिक हमलालाई संरक्षण गर्न र प्रोत्साहन गर्न सङ्लग्न भएको स्पष्ट भएको उल्लेख गरेको छ । वर्तमान सरकारका यी जनविरोधी, राष्ट्रविरोधी क्रियाकलापको आ–आफ्नो ठाउँबाट सशक्त विरोध गर्न पार्टी सम्बद्ध सबै समक्ष एमालेले आह्वानसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्