काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन प्रकरणमा माओवादी केन्द्र उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि पनि अनुसन्धान हुनुपर्ने बताएका छन्।
सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरा बाबुछोरामाथि अनुसन्धान नभइरहेको भन्दै अनुसन्धान हुनुपर्ने भन्दै महामन्त्री थापाले सोमबार कांग्रेस संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्।
उनले भने, ‘यो तस्करी सानो मान्छले गर्नसक्ने कुरा होइन। सीआईबीले सत्यतथ्य छानबिन गरेर बाहिर ल्याउनुपर्छ। महराको बाबुछोराको संलग्नता भएको कुरा निरन्तर आइरहेको छ। सीआईबीले समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरिसकेको अवस्थामा छानबिन गर्ने आँटसमेत गरेको छैन।’
यस्तै, उनले थपे, ‘पार्टीको बैठकले भनेअनुसार कसैले प्रष्ट पारेर हुँदैन। नाम जोडिएपछि छानबिन गरेर टुंगो लगाउनुपर्छ। तुरुन्त छानबिन होस्। क्लियर गर्नुपर्छ। संलग्नता प्रधानमन्त्रीको पार्टीको होस् वा हाम्रो जोसुकै जुनसुकै भएपनि कारबाहीको दायरामा ल्याउनैपर्छ।’