Logo

महरापुत्र राहुलको प्रष्टीकरणः कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्न हुँदैन!



काठमाडौं,२९ साउन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा ९ किलो सुन प्रकरणमा जोडिएपछि महरापुत्र राहुलले पहिलोपटक मुख खोलेका छन् ।

महरापुत्र राहुलले आज भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा नाम मुछिएपछि बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोजेको भन्दै आपत्ति जनाएका छन् । उनले सञ्चारमाध्यम आफै न्यायालय बन्न खोजेको भन्दैअसन्तुष्टि समेत जनाएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत महराले कोही कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्न नहुने प्रष्टीकरण दिएका छन् ।

उनले लेखेकाम छन् ‘हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं। सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौ । हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो। राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ’ ।

भेपमा लुकाएर नेपाल ल्याइएको ९ किलो सुन प्रकरणमा महरा बाबुछोराको नाम जोडिँदै आएको छ । तर आजसम्मपनि उनीहरुमाथि छानबिन भने भएको छैन । जसको अहिले चौतर्फी आलोचना भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्