काठमाडौं,३० साउन । गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद गरिएको एक क्विन्टल सुन गाल्न सुरु गरिएको छ ।
बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धा विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न सुरु गरिएको हो ।
हङकङ्गबाट स्कुटरको ब्रेक शु भित्र राखेर काठमाडौं ल्याईएको उक्त सुन साउन ३ गते राजस्व विभागको टोलीले बरामद गरेको थियो ।
सोमबार राजस्व विभाग र सीआइबीको टोलीले टक्सारमा लगेर सुनको तौल लिने काम गरेको थियो । ब्रेक शुसहित १५५ किलो भनिएको उक्त सुन ब्रेक शु बाहेक जम्मा ६०. ७८९किलोग्राम मात्र रहेको बताइएको छ ।
उक्त सुन बरामद प्रकरणलाई लिएर अहिलेपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरिरहेको छ । गत साउन १० गतेदेखि अवरुद्ध सदन खुलाउन एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ, भने सोमबार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको मागलाई अस्विकार गर्ने औपचारिक निर्णय गरेको थियो ।