Logo

गुमनाम हुनुभन्दा बदनाम हुनु मै रमाइलो मान्ने स्थापित एमाले राजनीतिबाट विस्थापित



  • कमल बुढाथोकी

काठमाडौं, ३० साउन । नेकपा (एमाले)को सोमबार बसेको सचिवालय बैठकले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य केशव स्थापितलाई पार्टीबाट बिदाइ गरेको छ। स्थापितको इच्छानुसार उनलाई पार्टी कमिटीबाट बिदा गरिएको हो।

स्थापित एमालेको तर्फबाट विस २०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। त्यसोत उनी गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार थिए। तर, एमालेको लालकिल्ला मानिने काठमाडौंबाट नराम्ररी पराजित भए। स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर पदमा विजयी हासिँल गर्दा स्थापितलाई दोस्रो स्थानसमेत जोगाउन हम्मेहम्मे पर्यो। अन्ततः उनी तेस्रो स्थानमा सिमित भए। काठमाडौं महानगरको मेयरमा पराजित भएपछि पछिल्लो समय स्थापित पार्टी राजनीतिमा सक्रिय थिएनन्। उनी नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ भन्ने अभियानमा सक्रिय छन्।

स्थापितको राजनीतिक उत्तरचढाब, टिके मेयरदेखि मीटूसम्म

एमाले राजनीतिबाट बिदा लिएका स्थापित पार्टी राजनीतिमा कटिवद्ध नेता भने हैनन्। स्थापित एमालेको युवा संगठन राष्ट्रिय युवा संघको दोस्रो अध्यक्षहुँदै राजनीति अगाडि बढाएका नेता हुन्। युवा संघको संस्थापक महासचिव बनेका स्थापित केपी शर्मा ओलीपछि दोस्रो अध्यक्ष बनेका थिए। उनै स्थापित २०५१ सालमा एमालेको नौं महिने सरकारका पालामा १ वर्षसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवसमेत बनेका थिए।

स्थापित २०५४ सालमा एमालेबाट काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए। ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नारा उनैको पालामा ल्याइएको हो। उनी मेयर भएकै बेला पशुपति, माइतीघर, तीनकुनेलगायतका ठाउँमा निर्माण भएका अव्यवस्थित घर-टहराहरू भत्काइएको थियो। उनै स्थापितलाई मेयर रहँदा दुई महिलालाई यौन दुर्व्यहार गरेको आरोपसमेत लागेको थियो। महानगरमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यहार गरेको आरोप लागेपछि स्थापित निक्कै विवादित बनेका थिए। सो आरोपलाई आजपनि जनमानसले मीटूको आरोप भनेर चिन्ने गर्छन्।

एमालेमा २०५४ सालमा महाकाली सन्धीको बारेमा भएको अन्तरविरोधले विभाजनको रुप लिएपछि उनी वामदेव गौतमसँगै मालेमा लागेका थिए। तर, त्यहाँपनि लामो समय टिक्न सकेनन्। २०५८ सम्म आइपुग्दा पुनः एमालेमै फर्किए उनी। एमालेको राजनीतिमा फर्किएको एक/दुई वर्षमै स्थापितको संगत राजावादीहरूसँग बढ्दै गयो। अन्ततः एमालेसँग टाढिँदै उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहको समिपमा पुगे। ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनकै निगाहले स्थापित काठमाडौं महानगरपालिकाको मेयरमा मनोनीत भए। उनलाई त्यस समयमा धेरैले टिके मेयर भनेर आलोचनासमेत गर्दथे।

निक्कै अस्थिर स्वभावका स्थापित ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल हटेपछि अशोक राईले नेतृत्व गरेको मधेशी दलमा आवद्ध भए। २०६४ सालको निर्वाचनमा उक्त दलबाट काठमाडौं-६ को उम्मेदवार बनेका स्थापितले जमानतसमेत जोगाउन सकेनन्। त्यसपछि पुनः माओवादी केन्द्र निकट बन्दै प्रवेश नै गरे।

कहिले काठमाडौंमा ‘लभ’ पार्क खोल्छु भनेर त कहिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साडीमा रातो रङ छर्केर उनलाई चुनाव जिताएको बयान दिएर उनी चर्चामा आइरहे। भलै, चर्चा नकारात्मक नै किन नहोस् गुमनाम हुनभन्दा बदनाम हुनमै रमाइलो मान्ने स्वभावका स्थापित अन्तत: राजनीतिबाट अहिलेका लागि विश्राम लिएका छन्।

माओवादीमा प्रवेश गरेको केही समयमै बाबुराम भट्टराईसँग बेमेल भएपछि राजनीतिकरुपमा निष्कृय बनेका स्थापित अन्तिम गन्तव्य भन्दै एमालेमा भित्रिए। एमाले भित्रिएर २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवार बन्ने आकांक्षा राखेपनि त्यसबेला पार्टी अध्यक्ष ओलीले मेयरको टिकट आफ्ना सालो विद्यासुन्दर शाक्यलाई थमाएपछि स्थापित जिल्लिएका थिए। तर, एमालेले टिकट नदिएपनि उनले विद्यासुन्दरलाई जिताउने निक्कै मेहनत गरेको एमाले नेताहरू बताउँछन्। फलस्वरुप काठमाडौंको मेयरमा भारी मतसहित एमाले उम्मेदवार शाक्य निर्वाचित भएका थिए।

एमाले उम्मेदवारलाई जिताउन भूमिका खेलेको जस पाएका स्थापित त्यहीँ वर्षको मंसिरमा भएको प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनमा काठमाडौं-६ बाट प्रदेश सभामा निर्वाचित भएका थिए। प्रदेश सभामा निर्वाचित भएपछि मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री बनेका स्थापित मुख्यमन्त्री पौडेललाई तथानाम मुख छाडेपछि बर्खास्तीमा परेका थिए।

मेयरहुँदा काठमाडौंको रत्नपार्क र माइतीघर मण्डलामा बनेका अवैध घरहरू भत्काएर चर्चा कमाएका स्थापितले त्यसपछि खासै उल्लेख्य काम नगरि राजनीतिबाट बिदा भएका छन्। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला महानगर विकास प्राधिकरणको जिम्मासमेत पाएका उनले उल्लेख्य काम त गर्न सकेनन्। विवादरहित पनि बन्न सकेनन् ।

कहिले काठमाडौंमा ‘लभ’ पार्क खोल्छु भनेर त कहिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साडीमा रातो रङ छर्केर उनलाई चुनाव जिताएको बयान दिएर उनी चर्चामा आइरहे। भलै, चर्चा नकारात्मक नै किन नहोस् गुमनाम हुनभन्दा बदनाम हुनमै रमाइलो मान्ने स्वभावका स्थापित अन्तत: राजनीतिबाट अहिलेका लागि विश्राम लिएका छन्।



प्रतिक्रिया दिनुहोस्