Logo

कर्णालीमा नियमित उडान नहुँदा चार बालकले गुमाए ज्यान, डेलिगेसन लिएर सांसदहरु मन्त्रालयमा



काठमाडौं, ३१ साउन । नियमित हवाई उडान हुनुपर्ने भन्दै कर्णालीका सांसदहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा डेलिगेसन गएका छन् । कर्णालीमा असार, साउन र भदौ महिनामा दिनको १२ बजेपछि नियमित उडानमा रोक लगाइएको छ ।

कर्णाली प्रदेशका जिल्लाहरुबाट निर्वाचित संघीय सांसद् र प्रदेश सभाका सांसदहरुले मन्त्री सुदन किरातीलाई भेटेर कर्णालीमा दिनको १२ बजेपछि पनि नियमित हवाई उडान हुनुपर्ने माग राखेका छन् । कर्णालीबाट डेलिगेसन आएका सांसदहरुले केहीबेर होहल्ला समेत गरेका थिए । मन्त्री किरातीले यस विषयमा प्रधानमन्त्रीसँग विशेष छलफल गरेर निर्णय लिने वचन दिएको राजन समिपले बताए ।

‘कर्णालीका सांसदहरु प्लेन १२ बजे पछाडि पनि उड्नुपर्छ भन्ने माग लिएर डेलिगेसन आउनु भएको थियो । असार, साउन र भदौसम्म तीन महिना पहाडी जिल्लाहरुमा उड्न नपाउने भन्ने यो पुरानै नियम हो ।’ उनले भने, ‘उहाँहरुलाई अहिले यो मन्त्री आएपछि यस्तो नियम लगायो भन्ने लागेको रहेछ । यो विषयमा प्रधानमन्त्रीसहित बसेर छलफल गर्ने मन्त्रीज्यूले वचन दिनुभएको छ ।’

नियमित उडान १२ बजेपछि रोकिएको भएपनि खाद्यन्न र उद्धारको काम भने २४ घण्टा भइरहेको उनले बताए ।

कर्णालीमा जहाजको पर्खाईमा एक महिनामा चार जना बालकले ज्यान गुमाउन परेको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका थिए ।

हुम्लाको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली–४ का पाँच महिनाका बालक सन्देश लुवार उपचार अभावमा ज्यान गुमाउन परेको थियो ।

बर्खाको बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामीलगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्ने समस्यामा रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्