Logo

रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं,३१ साउन । रूपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालीम कार्यक्रमहरुमा कमिशन लिएको आरोपसहित मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण अर्याल, उनका छोरा पवन कुमार अर्याल, वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष नारायण बहादुर यादव, वडा नम्बर ५ र ६ का वडा सचिव गुलाब यादव, सम्वृद्ध नेपाल ईनर्जीका प्रोपाईटर बिनोद बाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल ट्रेनिङ्ग ईन्टिच्युटका प्रोपाईटर अमरिश यादवमाथि मुद्दा दायर गरिएको छ ।

गाउँपालिकामा अवैध कमिशन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंक खाता खोलिएको र सोही खातामा विकास निर्माणका योजना र कार्यक्रमबाट लाखौं रकम भ्रष्टाचार गरी कमिशनको रुपमा जम्मा गराइएको आरोप छ ।

अख्तियारले अर्यालबाट घुस लिएको १३ लाख ४५ हजार रुपैयाँ जफत, त्यस अनुसारको जरिवाना र कैद सजायको मागदाबी लिएको छ । उनका छोरा पवनकुमारसँग पनि सोही बिगो बमोजिमको सजाय मागदाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्