काठमाडौं,३२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) रामेछाप पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड आज २०औं दोरम्बा स्मृति दिवस मनाउन रामेछापको दोरम्बा सैलुङ्ग गाउँपालिकाको डाँडाकटेरी पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको साथमा उपमहासचिव जनार्दन शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललगायतका नेता कार्यकर्ता दोरम्बा पुगेका छन् ।
सरकार र तत्कालीन बिद्रोही पक्षबीच दाङको हापुरेमा शान्ति वार्ता भइरहेको बेला २०६० सालको साउन ३२ गते रामेछापको तत्कालीन दोरम्बा गाविसको डाँडाकटेरीमा नेपाली सेनाले २१ जना माओवादी छापामारहरूको हत्या गरेको थियो।
युद्धविराम उल्लंघन गर्दै तल्कालीन जिल्ला जनसरकार प्रमुख बाबुराम लामासहित २१ जना कार्यकर्ता मारिएको सम्झनामा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ।
यसअघि प्रधानमन्त्री प्रचण्ड तत्कालीन नेकपा हुँदा २०७५ सालमा पनि दोरम्बा पुगेका थिए । प्रचण्डले दोरम्बा पुगेर २०७९ सालमा हुने संसदीय निर्वाचन रामेछापबाटै लड्छु भन्ने आश्वासनसमेत दिएका थिए । तर,आम निर्वाचनमा भने प्रचण्ड गृह जिल्ला चितवनसमेत छोडेर गोरखा हानिएका थिए ।