काठमाडौं,३२ साउन । सुदूरपश्चिम प्रदेश सरकारले भाद्र १ गते प्रदेशभर सार्जजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आज सूचना जारी गर्दै ओल्के पर्वका अवसरमा सार्वजनिक बिदा दिएको उल्लेख गरेको छ ।
साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पही जिल्लामा ओल्के पर्व मनाउने चलन छ। ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ ।
आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो-मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।
यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ । ओल्के पर्व मनाउनाले प्राकृतिक प्रकोपलगायतका रोगब्याधीबाट बच्न सकिने विश्वास रहिआएको छ ।