काठमाडौं,३२ साउन । पशुपंक्षीमा महामारीको रुपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रण र किसानलाई क्षतिपूर्ति दिने दायित्वबाट सरकार पन्छिएको छ ।
हालसम्म ४७ हजार ६ सय ४९ वटा पशु मरिसकेको सरकारी तथ्यांकमा उल्लेख छ । तर पशु सेवा विभागले भने यो संख्यामा सत्यता नरहेको बताएको छ । पशु सेवा विभागले २ हप्ता अगाडि सार्जजनिक गरेको विवरण अनुसार हालसम्म ५० हजारभन्दा धेरै पशुपंक्षी यस रोगबाट मरिसकेका छन् । सरकराले भने ४७ हजारको हाराहारीमा मात्रै पशु मरेको दाबी गरेको छ ।
बिहीबार बसेको संसद्को कृषि समितिको बैठकमा बोल्दै कृषि तथा पशुपक्षिं विकासमन्त्री डा.वेदुराम भुसालले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । भुसालका अनुसार हालसम्म देशभरमा उक्त रोगबाट संक्रमित हुने पशुको संख्या १३ लाख ५ हजार ३ सय६१ रहेको छ । जसमध्ये १० लाख भन्दा धेरै पशु रोगमुक्त भइसकेका छन् , भने हालपनि १ लाख ७५ हजारभन्दा धेरै पशुमा यो संक्रमण कायमै छ ।
पर्याप्त मात्रमा खोप उपलब्ध नहुँदा यो रोगबाट संक्रमित हुने पशुको संख्या बढ्न सक्ने स्वयं मन्त्री भुसाल बताउँछन् । तर विभागीय मन्त्रालयका मन्त्री भुसाल यस रोगबाट प्रभावित भएका किसानलाई क्षतिपूर्ती दिन कुरामा भने पन्छिएका छन् । उनका अनुसार किसानलाई क्षतिको विवरण हेरेर राहातसम्म दिन सकिएपनि पूर्णरुपमा क्षतिपूर्ती दिन भने सम्भव नहुने बताए ।
‘किसानहरुलाई ठूलो क्षति भयो। क्षतिपूर्ति गर्न सक्दैनौँ। अरु सन्दर्भमा पनि क्षतिपूर्ति नै भनेर गर्न सकेका छैनौँ। राहत कमसेकम सरकारको तर्फबाट दिन प्रधानमन्त्रीकै उपस्थितिमा बैठक बसेर आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडि बढाएका छौँ’, उनले भने, ‘कार्यविधि पास हुनेबित्तिकै राहत दिन्छौँ। यो रोगविरुद्धको खोप उत्पादनका लागि चाहिने भाइरस विदेशबाट झिकाउन प्रक्रिया अगाडि बढाएका छौँ।’
उनले लम्पिस्किन लागेर पशुहरुको मृत्यु भएपछि किसानलाई ठूलो क्षति भएको स्वीकारे। तर सम्पूर्ण क्षतिपूर्ति दिन नसकिने बताए।