काठमाडौं,३२ साउन । काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगको उपाध्यक्षमा डा.सुमन नर्सिङ राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको नगर कार्यपालिकाको २१ औँ बैठकले उनलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पूर्व उपाध्यक्ष तपेन्द्रबहादुर खड्काले व्यक्तिगत कारण जनाउँदै बुधबार पदबाट राजीनामा दिएपछि उपाध्यक्ष पद रिक्त थियो । काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था बमोजिम रिक्त उपाध्यक्ष पदमा राजभण्डारीलाई नियुक्त गरिएको हो ।
डा। राजभण्डारीले इटालीको वासिलीकाटा मटेरा विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । उनले स्नातकोत्तर पुल्चोक इन्जिनियरिङ् कलेजबाट गरेका थिए ।
राजभण्डारीसँग विमानस्थल, ठुला भवन, पुललगायत ठुला परियोजनाहरुको गुरुयोजना, विस्तृत परियोजना प्रतिवेदन निर्माण, स्ट्रक्चरल डिजाइन, सामाजिक तथा जलविज्ञान अध्ययन, डिटेल इन्जिनियरिङ सर्भे, आर्किटक्टलगायतका प्राविधिक क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।