काठमाडौं,३२ साउन । नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको पहिलो वार्षिकी मनाइने भएको छ । भदौ २ देखि ४ गतेसम्म ‘प्रदीप गिरिको पावन स्मृतिमा लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौँदेखि काशीसम्म’ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
प्रदीप गिरि पवन स्मृति आयोजक समितिले बिहीबार काठमाडौँको बत्तीसपुतलीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको जानकारी गराएको छ । आयोजक समितिका संयोजक कञ्चन झाका अनुसार भदौ २ गते विहान ८ बजे पशुपतिनाथ मन्दिरमा गिरिप्रति श्रदाञ्जली अर्पणसभाको आयोजना गरिएको छ ।
सोही दिन दिउँसो २ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा साँझ पाँच बजे गिरिको व्यक्तित्वबारे चर्चा हुने झाले बताए । भदौ ३ गते विहान ९ बजे विरगञ्जको तिलावे नदीमा अस्तु विसर्जन गरिने छ भने १०ः १५ मा प्रदीप गिरि र मधेसको सम्बन्धनबारे चर्चा गर्ने कार्यक्रम छ ।
यात्राका क्रममा विभिन्न स्थानमा श्रद्धाञ्जली सभा पनि आयोजना गरिनेछ। यात्रा समापन हुने वाराणसीस्थित गंगा नदीमा प्रदीप गिरिको अस्तु विसर्जनपछि वनारस हिन्दु विश्वविद्यालयमा श्रद्धाञ्जली सभा आयोजना गरिने आयोजकले जनाएको छ।
प्रखर समाजवादी चिन्तक गिरिको ७५ वर्षको उमेरमा गत भदौ ४ गते निधन भएको थियो। नेता गिरि घाँटीको क्यान्सरबाट पीडित थिए।