Logo

ललिता निवास प्रकरणका मुख्य दोषी बाबुराम र माधव हुन्ः विशाल भट्टराई



काठमाडौं, १ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता विशाल भट्टराईले ललिता निवास प्रकरणको मुख्य दाषी पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई भएको दाबी गरेका छन् ।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्व प्रधानमन्त्रीद्वयको कार्यकालमा निर्णय भएर सरकारी जग्गा व्यक्तिको नाममा पुगेको बताएका हुन् । उनले निर्णय गर्नेलाई उन्मुक्ति दिएर फाईल ओल्लो कोठाबाट पल्लो कोठामा पुर्याउने र आदेश मान्ने कर्मचारीलाई कारबाही गरिएको भन्दै आपत्ति जनाए ।

‘माधव नेपाल र बाबुराम भट्टराईले निर्णय गरेर बालुवाटारको सरकारी जमिन व्यक्तिका नाममा पुर्याउनु हुन्छ । उहाँहरुलाई घरमा सिआईबीले बयान लिने । अनि उहाँले गरेको निर्णयको फाईल बोकेर हिँड्नेलाई खरिदारलाई लगेर थुन्ने ?’ प्रश्न गर्दै उनले भने, ‘सबैभन्दा पहिले २०७६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला बालुवाटारजस्तो प्राइम लोकेशनको जग्गा गुठीका नाममा लाने वा मोही कायम गरेर सरकारी जमिन व्यक्तिका नाममा टुक्राटुक्रा पारेर बाँड्ने कामको माधव नेपालले गर्नुभयो, बाबुराम भट्टराईले गर्नुभयो ।’

ललिता निवास प्रकरणमा चार सय जनाभन्दा बढिको संलग्नता रहेपनि मुख्य दोषी भने पूर्वप्रधानमन्त्रीद्वय भट्टराईं र नेपाल भएको उनको दाबी छ ।

‘चार सयभन्दा बढि दोषी छन् । मुख्य दोषी बाबुराम भट्टराई र माधव नेपाल हुन् । निर्णयकर्ता नै उहाँहरु हुन् । मान्छेलाई ठूलो भ्रम छ तर जसले निर्णय गरेर जग्गा हिनामिना गरेको छ, उहाँहरु मुख्य दोषी हो,’– उनले भने ।

उक्त प्रकरणमा सिआईबीले पूर्व प्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई घरमै गएर बयान लिने तयारी गरेको भन्दै आपत्ति जनाए । गठबन्धन सरकारले आफ्ना मान्छे बचाउने बाहेक अर्को कुनै खेति नै नगरेको उनको दाबी छ । सिआईबीले घरमै गएर बयान लिएका त्यसमा विश्वसनियता नहुने उनको दाबी छ ।

बालुवाटारमा गठबन्धनको बैठक बसेर मावध र बाबुरामलाई कसरी जोगाउने भन्ने विषयमा छलफल भएकोसमेत उनले दाबी गरे । गठबन्धन दलको बैठकमा महान्यायाधीवक्ता, सरकारी वकिल लगायतकासम्म राखेर माधव नेपाल र बाबुराम भट्टराईलाई जोगाउने विषयमा छलफल भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्