Logo

राजेन्द्र लिङदेनको दाबी: खरदार र सुब्बालाईमात्रै जेल हालेर बालुवाटार प्रकरण गठबन्धनले सामसुम पार्न खोज्दैछ



काठमाडौं,१ भदौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा मुछिएको ठूला नेतालाई सत्ता गठबन्धनको आडमा उन्मुक्ति दिन लागेको दाबी गरेका छन् ।

शुक्रबार पार्टीले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले टिप्पणी उठाउने खरदार सुब्बालाई जेलमा कोचेर सरकराले ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचेको दाबी गरेका हुन् । लिङदेनले सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा मन्त्रीपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको आदेश दिएपनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताए।

उनले भने ‘आज सरकार मस्त निन्द्रामा छ। केही खरदार सुब्बा र मानिसलाई जेल हालेर ठूलै भ्रष्टाचारविरुद्ध काम गरेँ भनेर सरकार दंगा पिटिरहेको छ। केही मानिसमा भ्रम पनि होला, यो सरकार ठूलै काम गर्न लाग्यो कि के हो भनेर। आज आदेशअनुसार काम गर्ने ? आफ्नो पैसा लगानी गरेर जग्गा किन्ने मानिसलाई कारबाही गर्ने, थुनामा राख्ने सरकारले आदेश दिने, मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई किन थुन्न सकेन, अदालतले अस्ति भर्खर आदेश दियो। त्यो आदेश तामेल गर्ने, पैस लगानी गरेर जग्गा किन्ने मानिसलाई होइन, आदेश दिने र मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई पक्राउ गर भनेको छ। खै सरकार ? यदी यो सरकार भ्रष्टाचारको बिरुद्ध इमान्दार थियो भने त्यहाँ किन पुगेन ? सत्तारुढ पार्टीका बैठकमा तैँ चुप मै चुपको निर्णय भएको छ। जे भयो यत्तिमै राख्ने निर्णय भएको छ।’



प्रतिक्रिया दिनुहोस्