Logo

‘२०४७ को संविधान, हामी सबैको अभियान’ को ७२औं दिन पूरा, देशभर उत्साहजनक सहभागिता रहेको अभियानकर्मीहरुको दाबी



काठमाडौं, २ भदौ । राजावादी र हिन्दु राष्ट्रका अनुयायीहरुले चलाएको ‘२०४७ को संविधान हामी सबैको अभियान’ ले आज ७२औं दिन पूरा गरेको छ । अभियानकर्मीहरुले आज (शनीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियान उत्साहजनक रहेको जानकारी गराएका छन् ।

२०७२ सालको संविधानले देशलाई नचिनेको भन्दै उनीहरुले देश जोगाउनका लागि राजा र जनता मिलेर २०४७ सालमै जारी गरेको संविधान ल्याउन आवश्यक रहेको बताए । पत्रकार सम्मेलनमा अभियानका बारेमा शरदचन्द्र दाहालले तयार पारेको कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो ।

अभियानका संयोजक किशोरी महतोले कार्यपत्र अनुमोदन भइसकेको बताउँदै कार्यपत्रले अभियानलाई थप जीवन्त बनाउन मद्धत पु¥याउने विश्वास व्यक्त गरे । उनले अभियानका बारेमा देशभरका विभिन्न ठाउँबाट सकारात्मक सन्देश प्राप्त भइरहेको बताए ।

उक्त अभियानमा विभिन्न २१ वटा संघ÷संस्थाको प्रतिवद्धता रहेको छ । किशोरी महतोको नेश्नल डेमोक्रेटिक अलाइन्स, राष्ट्रिय समाज सुधार संस्था, राष्ट्रवादी राजनीतिक जनजागरक अभियान, राष्ट्रवादीहरुको साझा संगठन, राष्ट्रिय एकता पार्टी, मितेरी पार्टी नेपाल, सन्तोष राजावादीको एनिटाइम फोर्स (एटीएफ), मिसन नेपाल, जनस्तरबाट गठित नागरिक मूल समारोह समिति, वि.पी. कांग्रेसका –संयोजक शुशील मान शेरचन, संयुक्त जन आन्दोलन मोर्चा, नेपालका लागि नेपाली, सनातन धर्म सेवा समिति, शाही युवाशक्ति नेपाल, स्वतन्त्र नागरिक समाज, देशभक्त समाज पार्टी, विश्वमूल गुरु वृहस्पति सत्संघ समाज, नेपाल अधिराज्यको संविधान २०४७ पुनस्र्थापना केन्द्रीय जनान्दोलन समिति–मानव सेवक, शहिद चिनियालाल सिंह तथा उषा सिंह स्मृति प्रतिष्ठान, कमल थापा नेतृत्वको राप्रपा नेपाल र सामाजिक सद्भाव राष्ट्रिय एकता अभियान नेपालको समर्थन र ऐक्यवद्धता रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी घनेन्द्र बहादुर बस्नेतले २०७२ सालको संविधानले देशलाई लथालिङ्ग बनाएको आरोप लगाए । ‘२०७२ सालको संविधानले लथालिङ्ग बनायो । नेतालाई पनि असुरक्षित बनाईदियो । अहिले सरकारमा गएका नेताहरु पनि असुरक्षित छन् । विकल्प ०४७ सालको संविधान हो । त्यही विकल्पमा आएर राजनीतिक संवाद गरेर समस्याको समाधान निकाल्न जरुरी छ,’– उनले भने ।

त्यसैगरी कार्यक्रमका अर्का वक्ता शरदचन्द्र दाहालले २०४७ सालको संविधान राजा र जनता मिलेर बनाइएकाले देशको हितमा रहेको बताए । अहिलेको व्यवस्थाको विकल्पमा ०४७ सालको संविधान रहेको उनको भनाई छ ।‘२०४७ को संविधान राजालेमात्रै दिएको पनि होईन । राजा र जनताले मिलेर बनाएको हो । अहिलेको उत्तम विकल्प यही हो,’– उनले भने ।

उनले राजावादी र हिन्दु राज्यका अनुयायीहरुले तस्कर माफिया सरकारको विरुद्धमा आन्दोलनको कार्यक्रम बनाउन ढिला गरेको बताए । अब आफूहरु एकजुट भएर अहिलेको व्यवस्था र ०७२ को संविधानलाई नै आर्यघाटमा पुर्याउने उनको दाबी छ ।

कार्यक्रममा अर्की वक्ता शुभद्रा विश्वकर्माले अहिलेका नेताहरुलाई देशप्रति माया नै नभएको बताईन् । देशमा गणतन्त्र आएपछि विकृति बढेको उनको भनाई छ । उनले अहिले सर्वसाधरणलाई बाँच्नसमेत कठिन भएको बताईन् । निमुखा जनतालाई बाँच्न गाह्रो भएको अवस्थामा ०४७ सालको संविधान एकमात्रै विकल्प हुनसक्ने विश्वकर्माले बताईन् ।

नेताहरुको स्वार्थका लागि आफूहरुलाई दलित बनाइएको उनको आरोप छ । आफूहरु विश्वकर्मा भएको बताउँदै उनले राज्यले आफूहरुलाई दलित भनेर अपमान गरेको बताईन् ।

नेपालका लागि नेपाल पार्टीका नेता दीपक महाराज आत्रेयले आज देश जटिल मोडमा आईपुगेको बताए । युवाहरुलाई विदेश लखेट्ने काम राज्यले नै गरेको उनको आरोप छ । उनले २०४७ सालको संविधानको नयाँ संस्करण २०८० सालभित्रै स्थापना गराउन सक्नुपर्ने बताए । विदेशी शक्तिहरुको कारणले ०४७ सालको संविधान ध्वस्त बनाउने काम भएको उनको आरोप छ ।

सामाजिक अभियन्ता तारा बरालले राजावादीहरु एकजुट हुन नसकेकोमा दुःख व्यक्त गरिन् । ‘२०४७ को संविधान हामी सबैको अभियान’ मा विभिन्न २१ वटा संस्था र संगठनको ऐक्यवद्धता रहेपनि कार्यक्रममा उपस्थिति कम भएको तर्फ लक्षित गर्दै उनले २०४७ सालको संविधान व्युँत्याएर राजा र हिन्दु राज्य स्थापना गर्ने हो भने राजावादीहरु एकजुट हुन आवस्यक रहेको बताईन् ।

राजनीतिज्ञ एव समाजसेवी हरिबोल भट्टराईले अहिलेका राजनीतिज्ञले देशभित्र पनि भ्रष्टाचार गरेको र देश बाहिर पनि विभिन्न तत्वसँग साँठगाँठ गरेको अरोप लगाए । २०४७ सालको संविधान हामी सबैको अभियान देश जोगाउने अभियान भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्