Logo

कोशी प्रदेश सरकार ढाल्न एमालेको चर्तिकला ! उपसभामुखसहित ७ सांसद अनुपस्थित् गराउँदै



काठमाडौं, ४ भदौ । कोशी प्रदेश सरकार ढाल्न एमालेले ठूलै कदम चालेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्न आज(सोमबार)का लागि आह्वान गरेको प्रदेशसभा बैठकमा थापा नेतृत्वको सरकार ढाल्न एमालेले ठूलै कदम चालेको हो।

कोशी सरकार बचाउन कांग्रेसलेसमेत प्रदेशसभाका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर आफ्नो नेतृत्वको सरकारका लागि गणपुरक संख्या पुर्याएको भन्दै त्यसकै बदलमा लिने योजनामा प्रतिपक्षी दलद्धय एमाले र राप्रपा रहेका छन्। त्यस्तै, कांग्रेसले प्रदेशसभाका ज्येष्ठ सदस्य सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको थियो।

साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका थिए।

कोशी प्रदेश सभामा हाल एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाको १ जना सांसद रहेका छन्।

थापा नेतृत्वको सरकार ढाल्नका लागि एमालेले उपसभामुख सृजना दनुवारसहित आफ्ना ७ सांसद्लाई अनुपस्थित गराउँदा राप्रपाले २ सांसदलाई अनुपस्थित गराउने भएको छ।

सभा सञ्चालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमतका लागि ४७ सांसद संख्या पुर्‍याउन कठिन हुन्छ। सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा सञ्चालन गर्नुपरेको अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुनेछ।

उपसभामुखले राजीनामा दिएको वा अनुपस्थित भएको अवस्थामा ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुँदा एमाले र राप्रपाले केही सांसदहरूलाई बिदामा राखेको छ।

एमालेका सांसदहरू रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सवेदीले बिदाको निवेदन दिएका छन् भने उपसभामुख दनुवार अचानक बिरामी परेको भन्दै प्रदेश बाहिर जानुपर्ने बताएकी छिन्।

यस्तै, राप्रपाका २ ज्येष्ठ सांसदहरूपनि बिदामा छन्।

सभामुख दनुवार प्रदेशसभा बैठक चलाउने जिम्मेवारीभने कांग्रेस सांसद इस्राइल मन्सुरीलाई दिएकी छिन्।

मन्सुरीले बैठक सञ्चालन गर्नुपर्दा मुख्यमन्त्री थापाले विश्वासको मत पाउने आवश्यक संख्या नपुग्ने देखिन्छ ।

प्रदेशसभा नियमावलीको नियम ११ (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न चार सदस्यीय सभाध्यक्षमण्डल बनाइएको छ ।

वणानुक्रममा रहेका सदस्य राप्रपाका अम्बरबहादुर विष्ट र एमालेकी मालतीकुमारी लिम्बूले बैठकमा अनुपस्थित हुने प्रदेशसभालाई जानकारी दिइसकेका छन्। त्यसपछिको वणानुक्रममा मन्सुरी रहेकी छिन्।

उता प्रतिपक्षतर्फ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सदस्य छन्। प्रदेशसभामा विश्वासको मत लिँदा बहुमत पाउन ४७ सदस्यको समर्थन चाहिन्छ।

यसरी आजै मुख्यमन्त्री थापाले विश्वासको मतका लागि प्रदेशसभा सञ्चालन भए अंकगणितमा मुख्यमन्त्री थापा नेतृत्वको सरकार ढल्ने प्रस्ट देखिन्छ। तर, सत्तापक्ष यसबारे छलफल गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस्