Logo

‘संसद् अवरोध सरकारले गरेको हो, उच्चस्तरीय समिति ठीक थिएन भने सहमति किन गरेको त ?’



काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्व कानुनमन्त्री अग्नि खरेलले सरकारले प्रमुख प्रतिपक्षको माग सम्बोधन नगरेर संसद् अवरुद्ध गरेको बताए ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आज खोजिएको सहमतिको मिलन विन्दु साउन ११ गते नै सरकारले नखोजेकाले अहिलेको अवस्था आएको बताएका हुन् ।

‘अखिर सहमति हुँदोरहेछ नि त ? साउन १० गतेदेखि सायद संसद् अवरुद्ध भएको थियो, साउनको ११ गते आज जुन चिज हुन गइरहेको छ, यो साउनको ११ गते पनि गर्न सकिन्थ्यो । आजसम्म त पर्खन पर्दैन थियो । आज जहाँ मिलन बिन्दु खोजियो, त्यो कुरा त ११ गते खोज्न सकिन्थ्यो,’– उनले भने ।

तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले २०१५ सालमै सदन प्रतिपक्षको हो भनेर रुलिङ गरेको स्मरण गराउँदै उनले प्रतिपक्षले सरकारले गलत गर्दै गर्दा सच्याउनका लागि प्रतिपक्षले सदनमार्फत दवाब दिन सक्ने बताए ।

‘संसद्मा जहिले पनि विपक्षीले आफ्नो आवाज दिन्छ, नेपालको प्रतिनिधि सभामा १०१५ सालका सभामुख कृष्णप्रसाद भट्टराईजी हो । उहाँले चुनाव हार्नुभएको थियो । त्यसबेलाका सिस्टम अनुसार फेरि ल्याइयो । उहाँले एउटा रुलिङ गर्नु भयो । पछि दमन ढुंगानाले पनि त्यही रुलिङ गर्नु भएको छ । भट्टराईजीले भन्नुभयो, संसद् चाहिँ प्रतिपक्षको हो भनेर,’ उनले भने ।

संसद्मा प्रतिपक्षले बोल्दा उसको कुरा गम्भीरतापूर्वक लिइनुपर्ने उनको भनाई छ । प्रतिपक्षले उठाइरहन्छ हामी साशन सत्ता चलाइरहन्छौं भनेर सरकार अगाडि बढेको खण्डमा प्रतिपक्ष थप सशक्त हुन आवश्यक रहेको उनले बताए ।

सत्ता पक्षले त सरकारमा रहेर आफ्नो काम गरिरहँदा कुनै बेठीक गरेको खण्डमा प्रतिपक्षले सरकारले बेठीक गरेको कुरालाई संसद्मार्फत यसरी बेठीक भयो भनेर जनतामाझ भन्न र सच्याउन दवाब दिन पाउनुपर्ने बताए । उच्चस्तरीय समिति एमालेले माग गर्नु ठीक रहेको उनको भनाई छ ।

‘प्रमुख प्रतिपक्षले उठाएको कुरा उचित थिएन भने किन सहमति गर्न खोजिँदै छ ? नगरे भयो । अर्थात् मैले नगरोस् भन्न खोजेको होईन,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्