Logo

सरकारलाई बास्कोटाको चुनौति, ‘विपक्षीलाई तर्साउने काम नगर्नुस्, पाता फर्काएर लैजानुस् न, हामीले रोकेको छ र ?’



काठमाडौं, ६ भदौ । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकारले विभिन्न प्रकरणको सत्यतथ्य छानविन नगरी स्टन्टबाजीमात्रै गरेको आरोप लगाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार प्रकरणमा सरकारले जरासम्म पुग्ने तागत राख्न आवश्यक रहेको बताएका हु्न् ।

‘स्टन्टबाजी होईन । गहिरो जरासम्म पुग्ने तागत राख्नुस् । आँट गर्नुस्, जे सत्य हो त्यो कुरा बाहिर आउँछ । एक हजार कुतर्कको काम छैन । एउटा तथ्यले सम्पूर्ण कुतर्कको छिनोफानो गर्दछ । यो आजको समाज हो, यसमा स्टन्टबाजीको काम छैन,’– उनले भने ।

विपक्षी दलको फलानो नेता, फलानो दिन जेल जान्छ भनेर सरकारले भ्रामक सूचना छर्दै हिँडेको उनको आरोप छ । जेल पठाउन पनि उनले सरकारलाई चुनौति दिए ।

‘के हेरेर बस्नु भएको छ ? लैजानु्स् समातेर । पाता फर्कार लैजानु न हामीले रोकेको छ र ? हामीले त्यही मागेको हो, जे चिज साचो हो त्यो कुरा ल्याउनुस् । तर, लल्कार्नी, तर्साउनी यो गजब भो,’– उनले भने ।

उनले जलारीदेखि ३३ किलोसम्मको हल्ला उठाएर सरकारले पूर्व देखाएर पश्चिम हान्ने काम गरेको बताए । ‘जलारीदेखि ३३ किलोसम्मको हल्ला किन उठाइराखिएको रहेछभन्दा देखियो, पूर्व देखाएर पश्चिम हान्ने एउटा तरिका छ नि । अर्काको ढाडमा टेकेर त्यसैको टाउकोमा हान्ने रहेछ नि,’– उनले भने ।

कहिले कोसित टाँसिएर, कहिले कोसित साटिएर ओभर नाईट सत्ता परिवर्तन गर्नेले जनताको विश्वासको जगमा उठेको पार्टीका नेतालाई अपमान गर्ने दुस्साहस नगर्नसमेत उनले आग्रह गरे । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्