Logo

सम्भावित भवितव्य रोक्न स्थानीय प्रशासनद्धारा धरानमा २४ घण्टे निषेधाज्ञा जारी



काठमाडौं,८ भदौ । धरानमा संभावित हिंसालाई मध्यनजर गरेर सुनसरी प्रशासनले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार मध्यराति १२ बजेदेखि लागु हुने गरी २४ घण्टे निषेधाज्ञा जारी गरेकी हुन्। उक्त निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको हो।

धरान पछिल्लो समय अशान्त बनिरहेको छ । केही दिनअघि पहिचानवादीहरुले गोरु काटेर भोज खुवाएको भिडियो सार्वजनिक भएपछि जातीय र धार्मिक हिंसा भड्किने खतरा बढ्दै गएपछि प्रशासनले उक्त कदम चालेको हो ।

प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका-१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका-६ बाट बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

त्यसैगरी इटहरी उपमहानगरपालिका वडा नं। २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

त्यसैगरी धरान उपमहानगरपालिका-५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी-६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । तर त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्