Logo

प्रचण्ड भन्छन्, ‘मधेशलाई सुख्खा क्षेत्र घोषणा गरेर राहत प्याकेज ल्याउने भनेको थिएँ, त्यही दिन बाढी आयो’



काठमाडौं, ८ भदौ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा काम गरिरहेको बताएका छन् ।

आज (शुक्रबार) समाजवादी मोर्चाको भेलालाई वीरगञ्जमा सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, विद्युत व्यापार लगायतका क्षेत्रमा उल्लेखनीय काम गरिरहको बताएका हुन् ।

उनले सरकारले किसान, मजदुरहरुको पक्षमा काम गरिरहेको बताए । मधेशी जनताको समस्याप्रति आफू गम्भीर रहेको बताउँदै उनले त्यहाँका जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । मधेशमा लामो खडेरी पर्दा त्यहाँका जनताले भोग्नुपरेको पीडा आफूले महशुस गरेको उनको भनाई छ । उनले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरेर पीडित किसानलाई राहतको व्यवस्थापन गर्ने तयारीमा रहेको बेला पानी परेको बताए ।

‘अस्ती क्याविनेट बैठकमा प्रस्ताव बनाएर मैले मुख्य सचिवलाई भनिसकेको थिएँ, आजको क्याविनेटबाट मधेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेर मधेशको निम्ति राहत प्याकेज घोषणा गर्ने भनेको थिएँ । अब यो विधिको कुरा त्यही दिन पानी आएर बाढी बाढी भएछ,’– उनले भने ।

पानी परेपछि आज गर्नुपरेन । जरुरी परे अर्को बैठकमा गरौंला भनेर त्यसलाई रोकिएको उनको भनाई छ । मधेश र कर्णालीलाई विकसित गराइएमात्रै नेपालको विकास हुने उनको भनाई छ । अन्य ठाउँमा विकास भएरमात्रै नेपालको विकास नहुने उनले बताए ।

उनले मधेशप्रतिको जिम्मेवारी र भूमिकामा आफू जानाकार रहेको बताए । चुरे दोहन, मरिण डाइभर्सन आयोजना लगायतका कुरामा गहिरो अध्ययनमा रहेको बताउँदै उनले मधेशलाई मरुभूमीकरण हुनबाट रोक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्