Logo

आईओईले गरेको शुल्क वृद्धिविरुद्ध नेविसंघले घोषणा गर्यो बालुवाटार घेराउ कार्यक्रम



काठमाडौं, ९ भदौ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले इन्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिविरुद्ध बालुवाटार घेराउ कार्यक्रम घोषणा गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले भोलि (भदौ १०) गते विहान १० बजे बालुवाटार घेराउ कार्यक्रम तय भएको बताए ।

आइओईले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई./बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिबी तथा जेहेन्दार विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुने नेविसंघको भनाई छ । शुल्क वृद्धिको विरुद्धमा नेविसंघ पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका इकाई अध्यक्ष सुलभ चापागाईँ विगत पाँच दिनदेखि अनशनरत छन् । चापागाईँको जीवन रक्षाका लागि पनि नेविसंघ अध्यक्ष शेर्पाले सरोकारवाला निकायसँग अपील गरेका छन् ।

सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने, आईओईले १४४ प्रतिशत बढाएको अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि फिर्ता हुनुपर्ने, त्रिवि र आईओईलाइ सेन्टर अफ एक्सिलेन्सको रुपमा स्थापित गरी अनुदान बढाउनुपर्ने लगायतको माग नेविसंघको रहेको छ ।

साथै, सबै विश्वविद्यालयमा इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने । नेविसंघले विश्वविद्यालय अन्तर्गतका सबै आंगिक क्याम्पसहरुमा कर्पोरेट सोसियल रेस्पोन्सिविलिटीको माध्यमबाट सहयोग गर्ने वातावरण निर्माण गरिनुपर्ने माग राखेको छ ।

विद्यार्थीको विदेश पलायनलाई “राष्ट्रिय संकट” घोषणा गर्नुपर्ने नेविसंघको माग छ । नेविसंघ अध्यक्ष शेर्पाले सबै विद्यार्थीलाई भोलि आ–आफ्नो क्याम्पसका समस्याहरुलाई प्लेकार्डमा समावेश गरि अनिवार्य उपस्थितिका लागि अपील गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्