Logo

‘धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको हितमा छैन’



काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसले नेपालीको भावना र चाहना विपरित धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नरहेको बताएको छ ।

धरानमा घटिरहेको घटनामा धारणा सार्वजनिक गर्दै कांग्रेसले यस्ता प्रकारका धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने बताएको छ । कांग्रेसले परिस्थितिलाई बेलैमा अनुमान गरेर सबै व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आवश्यक रहेको बताएको छ ।

‘केही दिन यता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपिल गर्दछ,’– पाटी सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालको कानूनले हरेक ब्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको स्मरण गराउँदै कांग्रेसले कसैको धर्म, संस्कृति र परम्पराप्रति दख्खल पुर्याउने काम उचित नहुने बताएको छ ।

कांग्रेसले राजनैतिक दल, स्थानीय जनप्रतिनिधि, धार्मिक संघ–संस्था र समाजका अग्रज ब्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने काममा जुट्न अपिल गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्