Logo

शेरबहादुरको अपील, ‘स्थायित्वका लागि एमाले–कांग्रेस मिलौं’



काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारको स्थायित्व, विकास र मृद्धिका लागि एमाले कांग्रेस मिलेर सरकार बनाउन आवश्यक रहेको बताएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको अध्यक्षतामा भएको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा धेरै राजनीतिक दल भएको कारण अस्थिरता निम्तिएको बताए ।

उनले अहिलेको सरकारको आयु कांग्रेस व्युँझिएको दिनसम्ममात्रै बाँकी रहने बताउँदै सरकारको स्थायित्वका लागि दुई ठूला दल मिल्न आवश्यक रहेको बताए ।

कांग्रेस अहिले चिर निन्द्रामा रहेको र कहिले काही व्युँझिएकोजस्तो गर्यो भनेपनि भष्टाचारमा मुछिएको आफ्ना मान्छे जोगाउनमै रुमलिएको उनले बताए ।

‘कांग्रेस अहिले व्युँतिरहेको छैन, कांग्रेस अहिले चिर निन्द्रामा छ । कहिले काही व्युँझिएको जस्तो गर्छ, त्यसो हुँदा आफ्नो मान्छे को–को भ्रष्टाचारमा पर्न खोज्यो त्यसलाई बचाउने काममा लाग्नु हुन्छ,’– नेता तामाङले भने ।

कांग्रेस नव्युँझिएकै कारण कोशी प्रदेश सरकार गठनका क्रममा संविधान उल्लङ्घन भएको उनले बताए । उनले अहिले कांग्रेस सुतिरहको र देशमा के भइरहेको छ भन्ने केही पनि थाहै नपाएको बताए । त्यसैले देशको प्रमुख र पहिलो पार्टी यस्तो ढंगले किकर्तव्यविमुढ बनेर बस्न नहुने उनको भनाई छ ।

मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक रहेको उनको भनाई छ । देशमा धेरै राजनीतिक दलका कारण अस्थिरता निम्तिरहेको उनले बताए ।

‘मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने म प्रस्ताव गर्न चाहन्छु्, यद्यपि नेकपा (एमाले) अहिले सरकार गठनको पक्षमा छैन । दुई राजनीतिक पार्टी मिल्न सक्यौं भने करिब–करिब दुई तिहाईको स्थिति आउँछ । देशमा धेरै राजनीतिक दल हुनु यही अस्थिरता निम्त्याउनु रहेछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्