Logo

धरानमा भएको घटना‌ मुलुकलाई जातीय द्वन्द्वमा धकेल्ने योजना होः राजनीतिक विश्लेषक रायमाझी



काठमाडौं, ९ भदौ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले धरानमा भएको घटना‌ सामान्य नभएर सदिऔंदेखि मिलेर बसेको समाजलाई भड्काएर मुलुकलाई जातीय द्वन्द्वतर्फ धकेल्ने योजना भएको बताएका छन् ।

वैदिक सनातनी परम्परा, प्राचीन धर्म संस्कृति र पूर्विय दर्शनमाथि निरन्तर आक्रमण हुँदै आएको बताउँदै उनले द्वन्द्वात्मक भौतिकवादीहरुबाट धार्मिक सहिणुतामाथि दखल पुर्याउने काम भएको बताए ।

‘द्वन्द्वात्मक भौतिकवादीहरुले धार्मिक सहिणुतामाथि दखल पुर्याउनका निमित्त नियोजित ढङ्गबाट गौहत्या गर्दै सनातन धर्ममाथि खुलम्खुला चुनौती दिएका छन् । यसको जति निन्दा गरेपनि कम हुन्छ,’– रिपोर्टर्स नेपालका लागि संक्षिप्त कुराकानी गर्दै उनले भने ।

सबै नेपालीहरु एकजुट भएर नेपालको पुण्य भूमिलाई बिटुलो बनाउन दिन नहुने उनको भनाई छ । ‘धरानमा भएको घटना‌ सामान्य होइन, सदियौंदेखि मिलेर बसेको समाजलाई भड्काउने र जातीय द्वन्द्वमा मुलुकलाई धकेल्ने योजना हो,’– उनले भने ।

उनले सामाजिक सद्भावमा खलल पुर्याउने र जातीय तथा धार्मिक द्वन्द्व निम्त्याएर मुलुकमा अशान्ति मच्चाउने व्यक्ति र संस्थालाई बेलैमा चिनेर कानुनी कठघरामा ल्याउन आवश्यक रहेको बताए ।

गौहत्यमा संलग्नहरुलाई कारबाही नभएमा त्यस्ता व्यक्तिलाई मात्र नभएर राज्य प्रशासकलाई समेत जनताले नांगेझार पार्ने उनको चेतावनी छ । धर्मनिरपेक्षता र गणतन्त्रको नाममा भएका अत्याचारबाट नेपालीको धैर्यताको बाँध टुटिसकेको उनको बुझाई छ ।

धरानको घटनाका विरुद्धमा भएको शान्तिपूर्ण आन्दोलनमा रोक लगाएर सरकारले कायरता देखाएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्