Logo

आईओईले गरेको शुल्क वृद्धिविरुद्ध नेविसंघले गर्यो बालुवाटार घेराउ (फोटोफिचर)



काठमाडौं, १० भदौ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ ।  इन्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरुद्धमा नेविसंघले प्रधानमन्त्रीको निवास बालुवाटार घेराउ गरेको हो ।

आइओईले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.रबी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिबी तथा जेहेन्दार विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुने नेविसंघको भनाई छ । शुल्क वृद्धिको विरुद्धमा नेविसंघ पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका इकाई अध्यक्ष सुलभ चापागाईँ विगत पाँच दिनदेखि अनशनरत छन् ।

चापागाईँको जीवन रक्षाका लागि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सबै सरोकारवाला निकायसँग अपील गरेका छन् ।

सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने, आईओईले १४४ प्रतिशत बढाएको अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि फिर्ता हुनुपर्ने, त्रिवि र आईओईलाइ सेन्टर अफ एक्सिलेन्सको रुपमा स्थापित गरी अनुदान बढाउनुपर्ने लगायतको माग नेविसंघको रहेको छ ।

साथै, सबै विश्वविद्यालयमा इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने, नेविसंघले विश्वविद्यालय अन्तर्गतका सबै आंगिक क्याम्पसहरुमा कर्पोरेट सोसियल रेस्पोन्सिविलिटीको माध्यमबाट सहयोग गर्ने वातावरण निर्माण गरिनुपर्ने, विद्यार्थीको विदेश पलायनलाई “राष्ट्रिय संकट” घोषणा गर्नुपर्ने लगायतका माग राखेको छ । Photo by: Mukunda kalikote/RN 



प्रतिक्रिया दिनुहोस्