Logo

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित



काठमाडौं,१२ भदौ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । मंगलबार बसेको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग सांसदहरुकबो प्रश्नोत्तर कार्यक्रम र कोही नेपाल ऐन संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

मंगलबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलपछि सभामुख देवराज घिमिरेले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लागेका थिए । तर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, नेकपा एमालेका सांसद ठाकुर गैरे र दामोदर बैरागीले संसदमा गणपूरक संख्या नपुगेकाले उक्त प्रस्ताव पेश गर्न नपाइने भन्दै विरोध जनाएका थिए।

तीन सांसदको विरोधपछि सभामुखले तीन मिनेट घण्टी बजाएर सांसद संख्या गणणा गर्दा जम्मा ५९ जनामात्रै सांसद रहेपछि बैठक ६ दिनसम्म अर्थात भदौं १८ गते दिउँसो १ बजेसम्म स्थगित भएको छ ।

संविधानको धारा ९४ मा प्रतिनिधिसभामा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । अर्थात् २७५ सदस्यीय प्रतिनिधिसभामा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्न ६९ जना सांसदहरु उपस्थित हुनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्