काठमाडौं,१२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न कि भन्ने लागे पनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताएका छन् ।
मंगलबार समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्न रुपन्देहीको बुटवल पुगेका दाहालले सरकारमा बसेर आफूले कुनैपनि गलत काम नगरेको दाबी गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा जतिसुकै फण्डा झिकेपनि आफै परास्त भएको र सरकार आफ्नो गतीमा अगाडि बढेको टिप्पणी गरे । उनले भने ‘प्रतिपक्षी साथीले संसदमा अनेक गर्नुभएको छ, तर पनि चिज अगाडि बढेकै छ, बढ्छ’।
प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पटक पटक संसद विघटन गर्नेले कुनैपनि आन्दोलनको नेतृत्व गर्न नसक्ने दाबी गरे । उनले भने ‘यो मोर्चाभन्दा बाहिर रहेका शक्तिहरु नक्कली हुन् पटक पटक संविधान मिचेर संसद विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन । गणतन्त्र जनताको हुने हो वा बुर्जवाहरुको,श्रमिक वा पूँजीपतिहरुको हुने हो ? त्यसैको लागि यो मोर्चा बनेको छ’।