Logo

राजेन्द्र लिङ्देन भन्छन्ः कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाए हुन्छ, हाम्रो कुनै शर्त छैन



काठमाडौं,१२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आफ्नो पार्टीले संसदीय समितिमा पाएको नेतृत्वलाई लिएर सत्तापक्षले अफवाह फैलाएको दाबी गरेका छन् ।

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लिङदेनले अन्य पार्टीले जस्तै सिट संख्याका आधारमा आफ्नो पार्टीले पनि समितिको नेतृत्व पाएको बताए । उनले संसदीय समितिको नेतृत्व लिएर कोशीमा सत्तारुढ दललाई सघाउने खबर सरासर झुटो भएको दाबी गरे ।

उनले भने ‘समितिको सभापति र कोशी प्रदेशको सरकारलाई जोडने काम जुन भइरहेको छ। त्यो नै गलत छ। धेरै लामो समयदेखि नै संसदीय समितिहरुमा राष्ट्रिय पार्टीहरुलाई संसदमा उसको उपस्थिति अनुसार, हैसियत अनुसारको भाग दिने भन्ने कुरा उठिराखेको थियो, चर्चामा आइराखेको थियो । त्यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा समितिको नेतृत्व गर्ने मौका पाएको हो। तपाईंहरूले के बिर्सनु हुँदैन भने अहिले प्रमुख प्रतिपक्ष दल एमालेले पनि तीन वटा समितिको नेतृत्व गर्ने मौका पाएको छ नि त? त्यो कुरा शर्तमा पायो त? भन्दा त्यो सिटकै आधारमा हो’।

लिङदेनले प्रदेश सरकारलाई दिगो बनाउने हो भने कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउन पुनः सुझाव दिएका छन् । ‘स्वभाविक रुपमा यसमा सहज बनाइ दिएकोमा मुख्य राजनीतिक दलहरुलाई हाम्रो तर्फबाट धन्यवाद छ। र, उहाँहरूको अपेक्षा हुनसक्छ कि यो सहकार्यले फाइदै गर्छ। राम्रै गर्छ। कोशी प्रदेशमा कांग्रेस र एमाले मिलेर सरकार चलाए हुन्छ भनेर हामीले भनिराखेका छौं,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्