Logo

खाँणलाई भेट्न कारागार पुगे कांग्रेस सांसद शशांक कोइराला



काठमाडौं,१३ भदौ । नेपाली कांग्रेसका सांसद तथा पूर्व महामन्त्री शशांक कोइराला पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हाल थुनामा रहेका पार्टीका केन्द्रीय सदस्य खाँण्लाई भेट्न कोइराला बुधबार बिहान कारागार पुगेका हुन् ।

कारागार स्रोतकाअनुसार उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । खाणलाई भेट्न कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि कारागार पुगेका थिए । खाणलाई भेट्न कांग्रेसका शीर्ष नेता सुन्धारा पुगिरहेका छन् ।

यसअघिपनि कांग्रेसका नेताहरु डा.शेखर कोइराला,लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतका नेताहरु कारगार पुगेका थिए । पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेसका प्रभावशाली नेता खाँण नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि गत असारबाट केन्द्रीय कारगारमा जेल जीवन बिताइरहेका छन् ।

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले थुनामा पठाउने आदेश दिएपछि खाँणसहित १६ जना हाल जेलमा रहेका छन् । यस प्रकरणमा नेकपा एमालेका निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेसहित १६ जना उच्च पदस्थ व्यक्तिहरु कारगारमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्