Logo

नेपाली क्रिकेट टिमलाई बालेनको ढाडस, भन्छन्: हामी हिँडेको बाटो गलत छैन



काठमाडौं,१४ भदौ । हिजोबाट सुरु भएको एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पारजित भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाली क्रिकेट टिमलाई ढाडस दिँदै सफलताका लागि हिँड्नुपर्ने बाटो यही नै रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै बालेनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँगको कुराकानीलाई पनि समेटेका छन् । पारससँगको कुरा उल्लेख गर्दै बालेनले लेखेका छन्,‘उहाँ भन्नु हुन्थ्यो– २००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो । बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउँथ्यो, हामीलाई थाहा नै हुन्न थियो । हामी उनीहरुसँग खेल्दै गयौँ । सिक्दै गयौँ ।’

तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोगेको बालेनको भनाइ छ । त्यो सिकाइले हामीलाई भारतसँग खेल्न केही सहज बनाउने विश्वास उनले व्यक्त गरेका छन् ।उनले नेपाली खेलाडिलाई सान्तवना दिँदै लेखेका छन् ‘हामी हिँडेको बाटो गलत छैन । जय नेपाल ।’

‘अझै यस्तै विश्वस्तरीय टिम र खेलाडीहरुसँगको सिकाइले केही वर्षमा नै युएईहरुसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सकेजस्तै भारत, पाकिस्तान जस्ता देशहरुसँग पनि अवश्य राम्रो गर्ने छौँ,’ बालेनले लेखेका छन्, ‘बाटो लामो छ तर सफलताका लागि हिँड्नु पर्ने बाटो यही हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यिनै हुन् ।’

नेपालले आफ्नो दोस्रो खेलमा आगामी सोमबार भारतसँग खेल्दैछ ।



प्रतिक्रिया दिनुहोस्