Logo

एमाले फुट्नसक्ने प्रचण्डको संकेत



काठमाडौं,१४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फुट्नसक्ने संकेत गरेका छन् ।

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो संकेत गरेका हुन् ।

उनले भने, ‘म अहिले नाम लिएर भन्दिनँ तर आफूलाई ठूलो पार्टी भन्ने, प्रतिपक्षी पार्टीभित्र यति ठूलो धाँजा परेको छ, नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान परेसान भएर भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा छ । मलाई लाग्छ त्यहाँबाट कहीँ न कहीँ कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरू हुन्छ ।’

एमालेभित्र अहिले एउटा पंक्ति अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेको छ । जसले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा फर्काउन खोजिरहेका छन् । भण्डारीलाई एमालेमा फर्काएर ओलीलाई पार्टीबाट विस्थापित गर्नेगरि एक टिम लागेपछि एमालेभित्र असन्तुष्टि चुलिँदै गएको छ । उक्त घटना नजिकबाट निँयालिरहेका दाहालले पनि आज थप बल पुग्नेगरि यस्तो संकेत गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्