काठमाडौं,१५ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत सम्बन्धी सर्वोच्च अदालतमा दायर रिट हेर्न नमिल्नेमा परेको छ ।
पूर्ण सुनुवाइका लागि शुक्रबार सर्वोच्चका न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेकाको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर यसअघिनै खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिएकाले आज उनले रिट हेर्न नमिलेको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आजबाट अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो। उक्त रिटमाथि शुक्रबार पूर्ण सुनुवाइ गर्ने गरी यसअघि नै पेसी तोकिएको थियो।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले भदौ ६ गते प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कामचलाउको अवस्थामा छ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सविालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेका छन् ।