Logo

जाँड-रक्सी नखाने र जुवातास नखेल्ने जुम्ला माओवादीको संकल्प



काठमाडौं,१५ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको जुम्ला जिल्ला कमिटीले जिल्लाभित्र रहेका आफ्ना कुनैपनि सदस्यलाई जाँड रक्सी सेवन गर्न र जुवातास खेल्न प्रतिबन्ध लगाएको छ ।

माओवादी केन्द्रले भदौ १६ देखि मंसिर १५ गतेसम्म सञ्चालन गर्न लागेको तीन महिने विशेष अभियानको बारेमा जानकारी दिन बिहीबार जुम्लामा आयोजित पत्रककार सम्मेलनमा माओवादी पार्टीलाई अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रूपमा प्रस्तुत गर्न जाँड–रक्सी, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार नगर्न-नगराउन सङ्कल्प प्रस्ताव पारित गरिएको हो ।

माओवादीले भदौ १६ गते काठमाडौंको चन्द्रागिरि २ बाट तीन महिने विशेष अभियानको सुरुआत गर्दैछ । जसको उद्धघाटन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ ।

तीन महिने अभियानका लागि माओवादीले जुम्लामा जिल्ला इन्चार्ज छिमी लामाको नेतृत्वमा कनकासुन्दरी गाउँपालिकामा नवराज न्यौपाने, सिंजा गाउँपालिकामा प्रभात चलाउने, हिमा गाउँपालिकामा गोविन्द तिमिल्सिना, तिला गाउँपालिकामा झक्कुप्रसाद घर्ती, तातोपानी गाउँपालिकामा वीरबहादुर रावत, गुठीचौर गाउँपालिकामा रत्न गाह, पातारासी गाउँपालिकामा डा। कलबहादुर रोकाया र चन्दननाथ नगरपालिकामा बिर्खबहादुर थापा खटाइएको छ।



प्रतिक्रिया दिनुहोस्