काठमाडौं,१५ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियानको उद्घाटन भोलि हुँदै छ ।
माओवादीले केन्द्रीय सदस्यहरूलाई वडा तहमा नै पठाउँदै छ ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उद्घाटन बिहान ९ बजे हुँदै छ ।
माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चन्द्रागिरि नगरपालिका–२ बाट अभियानको सुरुवात गर्दै छन् ।
माओवादीले पदाधिकारीहरूलाई विभिन्न वडाको उद्घाटनको जिम्मेवारी दिएको छ । माओवादी केन्द्रमा अहिले २२ जनाको जम्बो पदाधिकारी रहेको छ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, ६ उपमहासचिव, ९ सचिव र १ कोषाध्यक्ष रहेका छन् ।
माओवादी केन्द्रले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई काठमाडौंको चन्द्रागिरी -२ मा खटाउँदा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको वडा नम्बर-२८ स्थित हरिसिद्धिमा खटिएका छन् ।
त्यस्तै उपाध्यक्षहरु कृष्णबहादुर महरा सुनछहारी गाउँपालिका रोल्पा, अग्निप्रसाद सापकोटा लिशंखुपाखर गाउँपालिकाको वडा नम्बर-३ सिन्धुपाल्चोक, र पम्फा भुसाल ललितपुर महानगरको वडा नम्बर-२२ मा खटिएकी छन् । त्यस्तै महासचिव देवप्रसाद गुरुङ लम्जुङको सुन्दरबजार नगरपालिकास्थित भेडेवडार खटिएका छन् ।
उता उपमहासचिव एवं संगठन विभाग प्रमुख जनार्दन शर्मा काठमाडौंको चन्द्रागिरि-२, हरिवोल गजुरेल कमलामाइ नगरपालिका सिन्धुली, वर्षमान पुन काठमाडौं महानगरपालिका-१६, उर्जामन्त्रीसमेत रहेका शक्तिबहादुर बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृकाप्रसाद यादव वीरेन्द्रनगर नगरपालिका सुर्खेत, र गिरिराजमणि पोखरेल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ मा खटिएका छन् ।
सचिवहरुमा दीनानाथ शर्मा वाग्लुङ नगरपालिकाको वडा नम्बर-१२, चक्रपाणि खनाल विराटनगरपालिकाको वडा नम्बर-१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिकाको वडा नम्बर-२०, लिलामणि पोखरेल बर्दिबास नगरपालिका महोत्तरी, गणेश साह काठमाडौं-१०, हितमान शाक्य सिस्ने गाउँपालिका रुकुम पूर्व, हितराज पाण्डे पालुङटार नगरपालिका गोरखा, डिलाराम आर्चाय धनगढी नगरपालिका-१६ कैलाली, सुरेन्द्र कार्की बुद्धशान्ति नगरपालिका झापा र कोषाध्यक्ष श्रीराम ढकाल चन्द्रागिरि नगरपालिका-२ काठमाडौंमा खटिएको माओवादी केन्द्रले जनाएको छ ।