Logo

नेपाल संसारको सुन्दर मुलुकहरूमा सबैभन्दा अगाडि आउनसक्छः सभामुख घिमिरे



काठमाडौं,१५ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरूको सूचीमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताएका छन् ।

शुक्रबार ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरको अवलोकन तथा लागिगुँरास फूलको बिरुवा रोपेपछि उनले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भएपनि त्यसलाई अगाडि बढाउनेगरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको बताए ।

उनले भने, ‘संसारको सुन्दर मुलुकहरूमा सबभन्दा अगाडि नेपाल हुनसक्छ । तर, त्यही ढंगको अध्ययन गर्ने, हेर्ने, विश्लेषण गर्ने भइरहेको छैन । अहिले महालक्ष्मी नगरपालिकाले यो क्षेत्रलाई एउटा पर्यटनको हिसाबले आकर्षक क्षेत्रको रूपमा विकास गर्ने जे सुरुवात गरेको छ । यो राष्ट्रकै हितको लागि, राष्ट्रलाई नै आकर्षण गर्नका लागि, राष्ट्रलाई समृद्ध बनाउनका लागि नेपाली जनता र नेपाली जातिहरुले गौरव गर्ने चिजको रुपबाट विकास गर्ने सुरुवात हो भन्ने मलाइ लाग्दछ’ ।

सभामुख घिमिरेले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अभियान चलाएको भन्दै महालक्ष्मी नगरपालिकाप्रति खुसी व्यक्त गर्दै यसले मुलुकलाई समृद्ध बनाउन र पर्यटनमार्फत समृद्धिको योजना बनाउन पनि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

महालक्ष्मी नगरपालीकाका प्रमुख हरि गोविन्द श्रेष्ठले मनमोहन मेमोरियल टावर तथा पार्क क्षेत्रमा बिभिन्न बिभूतिहरुको शालिक राख्ने र मनमोहन अधिकारीको जिवनी समेत राखिने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्